ललित सामन्त । अघिल्ला चुनावहरूमा नेपाली कांग्रेस र नेकपा एमालेले दार्चुलामा गठबन्धनकै भरमा चुनाव जितेका थिए । तर, यसपटक सबै दल एकल प्रतिस्पर्धामा छन् । चुनाव कसले जित्ने भन्ने विषयमा जिल्लामा आम चासो बढेको छ ।
विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजान्तत्र पार्टी चुनावी मैदानमा छन् । तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने धेरैको आंकलन छ ।
०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट दिलेन्द्र बडू विजयी भएका थिए । त्यसअघि ०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गणेश सिह ठगुन्नाले जितेका थिए । यी दुवै नेताले गठबन्धनकै जोडबलमा चुनाव जितेका थिए ।
०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच गठबन्धन थियो । उक्त निर्वाचनमा नेकपा एमालेका गणेश सिह ठगुन्ना उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम सिह धामी पराजित भएका थिए । ०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका दिलेन्द्र प्रसाद बडू विजयी भएका थिए । यसपटक, विगतका चुनावभन्दा प्रतिस्पर्धा अझ रोचक हुने देखिएको छ । कुनै पनि दलबीच चुनावी गठबन्धन छैन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा यसपटक विगतभन्दा नितान्त फरक हुनेछ ।
सधैँ नेपाली कांग्रेस र नेकपा एमालेबिच मात्र मुख्य प्रतिस्पर्धा सीमित रहने दार्चुलामा यसपटक नयाँ दल र अन्य विकल्पको सशक्त उपस्थितिले पुराना दलहरूको गणित बिगार्न सक्ने संकेत देखिएको छ । यहाँ मुख्य निर्वाचनमा भने पाँच जनाबिच मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । परम्परागत शक्तिहरू नेकपा एमाले र नेपाली कांग्रेस आफ्नो विरासत जोगाउने दाउमा छन् ।
यसपालि दार्चुलामा कसले मार्ला बाजी ?
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका गणेशसिंह ठगुन्ना दार्चुलाका लागि परिचित नाम हो, उनी यसपटक आफ्नो गुमेको साख फर्काउने र संसदीय राजनीतिमा तेस्रो जित निकाल्ने दाउमा छन् ।
ठगुन्नाको राजनीतिक ग्राफ हेर्दा उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजयी भएका थिए । २०७९ को निर्वाचनमा भने उनको विजय यात्रामा ब्रेक लाग्यो । त्यसबेला नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण कांग्रेसका दिलेन्द्र प्रसाद बडुसँग उनी पराजित हुन पुगेका थिए ।
बडुले ठगुन्नालाई २,१३४ मतले पराजित गर्दै विजयी भएका थिए । बडुले २८,५१५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी ठगुन्नाले २६,३८१ मत प्राप्त गरेका थिए । यसपटक बडुले निर्वाचन नलड्ने घोषणा गरेका छन् । अहिले भने गठबन्धनको समीकरण बदलिएको र आफ्नो व्यक्तिगत प्रभावका कारण पुन: जित निकाल्नेमा ठगुन्ना विश्वस्त देखिन्छन् । स्थानीय तहमा एमालेको बलियो संगठन छ ।
लामो समय दार्चुलाको राजनीतिमा एकछत्र राज गरेका नेता दिलेन्द्र प्रसाद बडुले निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेसले धर्मानन्द जोशीलाई अघि सारेको हो । दार्चुलाको चुनावी इतिहास हेर्दा यहाँ मुख्यत: कांग्रेस र एमाले नै आलोपालो सत्तामा पुगेको देखिन्छ । २०४८ मा राप्रपाले एउटा क्षेत्र जितेको र २०६४ मा माओवादीले जितेको बाहेक यहाँ दुई ठुला दलकै वर्चस्व छ ।
शैल्यशिखर नगरपालिका–८ पपरथला निवासी जोशीको पृष्ठभूमि रोचक छ ।
उनी कानुनी क्षेत्रमा दक्खल राख्ने बौद्धिक व्यक्तित्व हुन् । जोशीलाई कांग्रेसले टिकट दिएर नयाँ मतदातालाई आकर्षित गर्न खोजेको देखिन्छ, तर बडुजस्तो हस्तीको स्थान लिनु र पार्टीभित्रको गुटबन्दी मिलाउँदै एमालेको बलियो संगठनसँग जुध्नु जोशीका लागि चुनौती रहेको उनीनिकट नेताहरू बताउँछन् । एमाले र कांग्रेसका नेताले यहाँ जित आ–आफ्नो पक्षमा रहेको सहजै स्वीकार गरे पनि वास्तविकता भने यसपटक निकै फरक छ ।
लगातार जितको खोजीमा कांग्रेस
गत निर्वाचनमा माओवादीसहित अन्य दलको गठबन्धनबाट उमेदवार बनेका कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले यो पटक लामो समय दार्चुलाको राजनीतिमा एकछत्र राज गरेका बडुले निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेसले धर्मानन्द जोशीलाई अघि सारेको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि फेरिएको नयाँ नेतृत्वबाट धर्मानन्द जोशीले टिकट पाए ।
गठबन्धनको सहारामा गत निर्वाचन जितेको कांग्रेसलाई यसपटक एक्लै चुनाव जित्नुपर्ने दबाब छ । २०४८ मा राप्रपाले एउटा क्षेत्र जितेको र २०६४ मा माओवादीले जितेको बाहेक यहाँ दुई ठुला दलकै वर्चस्व छ ।
सधैँ अरूलाई चुनाव जिताउने नेपाली कम्युनिस्ट पार्टी एक्लै मैदानमा
विगतका दुई निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनाव जिताउन महत्वपूर्ण सारथी बनेको तत्कालीन नेकपा माओवादी र नेकपा एस मिलेर बनेको हालको नेपाली कम्युनिष्ट पार्टी यसपटक एक्लै चुनावी मैदानमा छ । नेकपाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार बनेका छन् ।
वितृष्णाको मतको भरमा नयाँ दल
मतदातामा पुराना दलप्रति बढ्दो वितृष्णालाई आधार बनाउँदै नयाँ दलहरू चुनावी मैदानमा छन् । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा पार्टीका उमेदवारहरूले यस्तो मत आकर्षित गर्ने आंकलन छ । पछिल्लो समय जिल्लामा यी दलहरूले संगठन विस्तार गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले राजेश सामन्त र राप्रपाबाट पूर्वकर्णेल राजेश चन्द उम्मेदवार बनाएको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार जिल्लामा कुल ९२ हजार ९४८ जना मतदाता रहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाको प्रतिनिधि सभाको एक सिटका लागि यसपटक यहाँ ११ जना चुनावी मैदानमा छन् ।
मैदानमा एमालेबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, कांग्रेसबाट नयाँ अनुहार धर्मानन्द जोशी, नेकपाबाट लक्ष्मणदत्त जोशी, रास्वपाबाट पूर्वशिक्षक राजेशसिंह सामन्त र राप्रपाबाट पूर्वकर्णेल राजेश चन्द छन् ।
यस्तै, विप्लव नेतृत्वको नेकपाबाट नवराज भट्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्ना, आमजनता पार्टीबाट प्रेमसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेश कुमार रावल र नेकपा संयुक्तबाट विद्यादेव जोशी पनि प्रतिस्पर्धामा छन् ।