दार्चुलामा एकैदिन छुट्टाछुट्टै ठाउँमा दुई जनाको हत्याप्रति महिला मानवअधिकार रक्षक सञ्जालको ध्यानाकर्षण
हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न नागरिक समाजको माग
दार्चुला । दार्चुलामा एकैदिन दुई जनाको छुट्टाछुट्टै ठाउँमा भएको महिला पुरुषको हत्याप्रति महिला मानवअधिकार रक्षक सञ्जाल दार्चुलाले ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा– ४ खलंगा बङ्गाबगडमा नेपाल प्रहरीका हवल्दार योगेन्द्र घर्ती र शैल्यशिखर नगरपालिका वडा–८ देउलका ७१ वर्षीया बृद्ध महिला लक्ष्मी जोशीको हत्याप्रति सञ्जालको ध्यानाकर्षण भएको जनाएको छ ।
सामुदायिक प्रहरी केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हवल्दार घर्तीको एक होटलमा हत्या हुनु र शैल्यशिखर नगरपालिका वडा–८ देवलका ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरि सुनचाँदी लुटपाट भएकोप्रति रक्षक सञ्जालको गहिरो ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार महिला मानवअधिकार रक्षक सञ्जाल दार्चुलाकी अध्यक्ष गौरी बडालले हत्यामा संलग्न दोषीलाई कारबाही गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमार्फत सञ्जालले दिनदहाडै सुरक्षा दिने सुरक्षाकर्मी र आफ्नै घरभित्र महिलाहरु असुरक्षित भई ज्यान गुमाउनुपरेको घटनाले आफूहरू स्तब्ध बनेको उल्लेख गरेको छ ।
यस्तै सञ्जालले जिल्लाका बजार क्षेत्रमा मदिरा लगायत लगु पदार्थ सेवन गरी घटिरहेका यस्ता घटनाले नागरीकले बाच्न पाउँने अधिकारबाट बन्चित हुनुपरेको जनाएको छ । यस्ता घटनाले महिला बालबालिकाहरु बजारक्षेत्रमा सुरक्षित नरहेको पनि जनाएको छ । यस्तै महिला मानवअधिकार रक्षक सञ्जाल दार्चुलाले जिल्लाको शैल्यशिखर नगरपालिका वडा–८ देउलका ७१ वर्षीया एकल बृद्ध महिला लक्ष्मी जोशीको हत्यामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।
बजारक्षेत्रका मदिरा पसलहरुमा तत्काल निगरानी राखी शान्ती सुरक्षा कायम गर्न प्रमुख जिल्ला अधिकारी पौडेलसमक्ष आग्रह समेत गरिएको छ । यस्तै जिल्ला सदरमुकाम खलंगाका मदिरा पसलहरुमा अहिलेपनि देह व्यवपार भइरहेकाले त्यसमाथि प्रशासनले निगरानी राखी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरिएको छ ।
हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न नागरिक समाजको माग
दार्चुलामा मंगलबार भएका दुई फरक जघन्य हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न नागरिक समाजले माग गरेका छ ।
जिल्लामा एकै दिन भएका दुई हत्याकाण्डले शान्ति–सुरक्षा व्यवस्थापनमा गम्भीर चुनौती थपिएको भन्दै नागरिक समाज दार्चुलाले घटनामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न प्रशासनसँग माग गरेको हो।
ड्युटीमा रहेका प्रहरीको हत्या भएको घटना तथा शैल्यशिखर नगरपालिका–८ देवलमा एकल महिलाको हत्या गरी गरगहना लुटपाट गरिएको घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरिएको नागरीक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले बताए ।
नागरिक समाज दार्चुलाले २६ गते राति भएका दुवै घटनामा संलग्नलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ। यसअघि भएका जघन्य आपराधिक घटनामा संलग्न व्यक्तिहरू समेत हालसम्म पक्राउ नपरेको उल्लेख गर्दै नागरिक समाजले नागरिकलाई सुरक्षित रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरेको हो ।
बुधबार महिला मानव अधिकार रक्षकहरूको सञ्जाल दार्चुलाका अध्यक्ष गौरी बडाल र नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टसहितका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई ज्ञापनपत्र बुझाउँदै उक्त मागहरू राखेका हुन्।