दार्चुला । शैक्षिकसत्र २०८२ मा कक्षा १० मा नियमितरूपमा अध्ययरत विद्यार्थीहरुका लागि दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा सञ्चालित एसईई प्रि टेष्ट परीक्षा सम्पन्न भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड द्वारा चैत १९ गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीका लागि टेष्ट परीक्षा सञ्चालन गरिएको हो । दुहुँ गाउँपालिका वडा न. ५ मा रहेको धारीपाटा मावि धारी परीक्षाकेन्द्रमा ५ वटै माध्यमिक विद्यालयका १२४ जना विद्यार्थीहरुले परीक्षा दिएका हुन ।
कक्षा १० का अनिवार्य ५ बिषयहरुको परीक्षा सञ्चालन गरिएकोमा परीक्षा पश्चात् विद्यार्थीहरुले प्राप्त गरेको नतिजा विश्लेषण गरि, उत्तरपुस्तिका समेत विद्यार्थीहरुको हातमा दिइ नतिजा सुधारका लागि उपचारात्मक शिक्षण सहितका तयारी कक्षा तथा अतिरिक्त कक्षाहरु सञ्चालन गरिने तयारी रहेको छ ।
परीक्षा सम्पन्न गर्न मद्दत पुर्याउनु भएकोमा धारीपाटा मावि धारी परिवारलाई धन्यबाद ज्ञापन गरिएको छ । यस्तै दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ति देवी बम, प्रवक्ता देव बहादुर बम, वडा ५ का वडा अध्यक्ष धन सिह कुवर लगायतको उपस्थिति रहेको थियो ।