दार्चुला । दार्चुलामा यस महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’ प्रहरी नायव निरीक्षक केशव शर्माले पाएका छन् । विहिबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा आयोजित एक समारोहकाबीच यो महिनाभरी उत्कृष्ट काम गर्ने शर्मालाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कार्यालयका अनुसार अपराध अनुसन्धान शाखामा कार्यरतप्रहरी नायव निरीक्षक शर्माले लगनशीलता, जिम्मेवारीप्रतिको निष्ठा र प्रभावकारी नेतृत्व देखाएका कारण उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डिएसपी गौरव महतले जानकारी दिए ।
शर्माले विभिन्न प्रकृतिका चालु मुद्दाहरूको सफल अनुसन्धान, प्रतिनिधि सभा निर्वाचनलाई शान्तीपुर्ण रुपमा सम्पन्न गर्न तथा प्रहरी व्यवस्थापनमा सक्रिय भूमिका खेलेका कारण उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुलाले अहिले हरेक महिना उत्कृष्ट काम गर्ने एक जना प्रहरी कर्मचारीहरुलाई यो पुरस्कार प्रदान गदैँ आएको छ ।
