दार्चुलामा चरेस सहित एकजना पक्राउ

दार्चुला ।दार्चुला जिल्लाको महाकाली नगरपालिका–१ स्थित लास्कु खोलाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास गाउँपालिका–४, दुम्लिङ निवासी २२ वर्षीय बिराज कामी रहेका छन्।
सामुदायिक प्रहरी सेवा केन्द्र बाङगाबगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनलाई चेकजाँच गर्दा उनको साथबाट करिब ८ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उक्त पदार्थ बरामद भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार लागूऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि जिल्लाभर निगरानी बढाइएको छ। पक्राउ परेका कामीमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.