दार्चुला । दार्चुलाको विगट अपिहिमाल गाउँपालिकामा आजबाट बृहत् नि:शुल्क स्वास्थ्य शिविर संञ्चालन भएको छ । एक एक पाइला फाउन्डेसन र गाउँपालिकाको सहकार्यमा आजबाट नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा आएको हो ।
शिविर संञ्चालनका लागि काठमाडौँस्थित “एक एक पाइला फाउन्डेसन”का विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली गाउँपालिकामा पुगेको छ । उनीहरुले आजबाट सेवा दिन सुरू गरेको गाउँपालिकाले जनाएको छ । शिविरमा विभिन्न प्रकारका रोगहरूको चेकजाँच तथा उपचार भइरहेको छ ।
नेपालका प्रतिष्ठित अस्पतालहरूमा कार्यरत विशेषज्ञ डाक्टरहरूबाट सेवा प्रदान गरिने भएकाले स्थानीय बासिन्दासहित छिमेकी पालिकाका नागरिकहरूलाई समेत यो अवसरको अधिकतम लाभ लिन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बोहराले जानकारी दिए । शिविरबाट दुर्गम क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्दै सबैलाई सहभागिताका लागि आह्वान समेत गरेका छन् । शिविर तीनदिनसम्म चल्ने बताइएको छ ।