दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका वडा–४ ओसिलमा भएको जिप दुर्घटनापछि घाइते भएका व्यक्तिहरूको स्थानीय जिल्ला प्रशासन कार्यालय दार्चुलाको विशेष पहलमा सफल उद्धार गरिएको छ।
मंगलबार आज विहान भएको जिप दुर्घटनामा परी घाइते भएका ३ जनालाई स्थानीय प्रशासनको विशेष पहलमा उद्धार गरिएको हो । घटना लगत्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको निर्देशनमा नेपाल प्रहरी, र स्थानीय स्वयंसेवकहरूको संयुक्त टोली परिचालन गरिएको थियो ।
कठिन भौगोलिक अवस्थाका बाबजुद उद्धार टोलीले जोखिम मोलेर ओसिल कोदेखाला जिप दुर्घटनाका घाइतेहरूलाई सुरक्षित स्थानमा सार्न सफल भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई केही घण्टा गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढीको मायामेट्रो अस्पतालमा पुर्याइएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका र स्वयम मालिकार्जुन अस्पतालले जिप दुर्घटनामा परी घाइते तीन जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउनका लागि गृहमन्त्रालयमा पहल गरिदिन स्थानीय प्रशासनसंग आग्रह गरेको थियो ।
सोही आग्रहलाई प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोलीले गृहमन्त्रालयलाई अनुरोध गरी पठाएको थियो । सोही अनुरोधपत्रलाई आधार मानेर गृहमन्त्रालले सुर्खेतबाट नेपाली सेनाको (एनए ०५५) नम्बरको हेलिकोप्टरमार्फत घाइतेहरुको उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
काँडापारीबाट गोकुलेश्वर आउँदै गरेको सु.प.प्र.०१–००१ ज १६४१ नम्बरको जीप अनियन्त्रित भई मंगलबार बिहान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी जीपमा सवार शैल्यशिखर नगरपालिका–१, बलाँचका ४५ वर्षीय भरत तितारा र मालिकार्जुन गाउँपालिका–७ की ३५ वर्षीया मनिसा पालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका जीप चालकसमेत तीनजनालाई थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी कैलाली पठाइएको छ ।
