काठमाडौं । ८ वर्षीया बालिका गृष्मा धामी दार्चुलाबाट काठमाडौं हिँडेकी छन् । खान बस्न दिएर मास्टर्ससम्म पढाउने मनकारी व्यक्ति भेटिएपछि उनी काठमाडौं हिँडेकी हुन् ।
बुबा र मम्मीको साथमा काठमाडौं हिँडेकी गृष्मालाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्पोन्सर खोजिदिएका हुन् ।
पुल बनाउने अभियान अन्तर्गत दार्चुला पुग्दा हर्कले गृष्मालाई भेटेका थिए । आजभन्दा ३ वर्षअघि गृष्माले तुइन चढिरहेको भिडियो टिकटकमा हर्कले देखेपछि पुल बनाउने सपना देखेका थिए । यही सिलसिलामा श्रमदानमार्फत् पुल बनाउन दार्चुला पुग्दा हर्क र गृष्माको भेट भएको थियो ।
उक्त भेटको भिडियो सार्वजनिक भएपछि गृष्मालाई दृप चाम्लिङले काठमाडौंमै खाने बस्ने सुविधा दिएर मास्टर्ससम्म पढाइदिने घोषणा गरेका थिए । दृप चाम्लिङ युनाइटेड एकेडेमीको निर्देशक समेत हुन् । यही एकेडेमीमा अध्ययन गर्न गृष्मा दार्चुलाबाट काठमाडौं हिँडेकी हुन् ।
काठमाडौं हिँड्ने भएपछि गृष्माको घरमा रुवाबासी समेत चलेको थियो । गृष्माकी आमा भक्कानिएर रोएकी थिइन् । श्रमदानमार्फत् दार्चुलामा झोलुंगे पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।