दार्चुला । दार्चुलाको गोकुलेश्वरमा भोली सोमबार इलाका प्रशासन कार्यालय उद्घाटन गरिने भएको छ । कार्यालय स्थापनाका लागि तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
इलाका प्रशासन कार्यालय संञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिदै आएको सेवाहरुलाई छिटो, छरितो, सहज र पहुँचयोग्य हुने अपेक्षा गरिएको छ । शैल्यशिखर नगरपालिका अन्तर्गतको कृषि तथा पशु भवन बाट कार्यालय संञ्चालनमा ल्याइने भएको छ ।
भौगोलिक विकटतालाई मध्यनजर गर्दै, स्थानीय नागरिकलाई नजिकैबाट सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना गरिन लागेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
अहिले सम्म नागरिकले सदरमुकाम खलङ्गा पुगेर मात्रै नागरिकता र अन्य प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो। नयाँ कार्यालय गोकुलेश्वरबाट प्रशासनिक सेवा सहज उपलब्ध हुने अपेक्षा गरिएको उनले बताए ।
ईलाका प्रशासन कार्यालयले शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका, साथै नौगाड गाउँपालिका वडा नम्बर ६ र लेकम गाउँपालिका वडा नम्बर १, २, ५ र ६ का नागरिकलाई सेवा प्रदान गर्नेछ।
कार्यालयमार्फत नागरिकता, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायतका सेवा स्थानीय तहसम्म सहजै पुग्ने अपेक्षा गरिएको छ। इलाका प्रशासन कार्यालय स्थापनाका लागि दार्चुलाका सबै राजनीतिक दल, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय लगायतको विशेष पहलकदमी रहेको थियो ।