महाकाली नगरपालिकाद्वारा फोहोरमैला व्यवस्थापनमा कडाइ, नागरिकलाई सहयोगको अपिल

दार्चुला । महाकाली नगरपालिकाले नगर क्षेत्रको सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ ।

नगरपालिकाले जारी गरेको सार्वजनिक अपिलमार्फत घर, पसल, होटल, कार्यालय, विद्यालय तथा संघसंस्थाबाट निस्कने फोहोर जथाभावी सडक, नदी किनार र सार्वजनिक स्थानमा नफाल्न अनुरोध गरेको हो । नगरपालिकाले फोहोर बोकेर आउने सवारी साधनमा मात्रै फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ ।

सूचनामा फोहोरलाई कुहिने र नकुहिने गरी अनिवार्य वर्गीकरण गर्नुपर्ने उल्लेख गरिएको छ । साथै ढल तथा नालीको निकास सार्वजनिक स्थान र नदीमा नछोड्न, घरबाट निस्कने फोहोरपानी तथा छतको पानी सडकमा नबगाउन पनि आग्रह गरिएको छ ।

नगरपालिकाले पवित्र महाकाली नदी किनारमा खुला दिसापिसाब गर्ने, फोहोर फाल्ने तथा ढल मिसाउने कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ । यस्ता गतिविधिले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको नदीलाई प्रदूषित बनाउने नगरपालिकाको भनाइ छ ।

त्यस्तै, सकेसम्म प्लास्टिक झोला प्रयोग नगर्न र ४० माइक्रोनभन्दा माथिका प्लास्टिक मात्रै प्रयोग गर्न आग्रह गरिएको छ । सिसाजन्य फोहोरलाई ब्रान्ड र रंगअनुसार छुट्याएर मात्रै व्यवस्थापन गर्न पनि सूचनामा उल्लेख छ ।

नगरपालिकाले सूचना विपरीत कार्य गरे प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । केहीदिन पहिले स्वच्छ पवित्र महाकाली नदीमा नगरपालिका स्वायमले फोहरलाई नदीमा विर्सजन गरेको र पछि डम्पिङ साइटमा रहेको फाहोरमा आगो लागेपछि नगरपालिकाको चौतर्फी विरोध भएको थियो ।

Leave A Reply

Your email address will not be published.