दार्चुला । दार्चुलामा मालपोत कार्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अनुसार अब मालपोत कार्यालय दार्चुला ‘भूमि प्रशासन कार्यालय दार्चुला’ को नामले परिचित हुने भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग मातहत रहेको कार्यालयले एक सूचना जारी गर्दै नाम परिवर्तनबारे जानकारी गराएको छ ।
कार्यालय प्रमुख लक्ष्मी राज विष्टद्वारा जारी सूचनामा जग्गा नापजाँच ऐन, २०१९ मा रहेको ‘मालपोत कार्यालय’ शब्दलाई संशोधन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम गरिएको उल्लेख छ । साथै, मालपोत ऐन, २०३४ मा रहेको ‘मालपोत अधिकृत’ शब्दसमेत परिवर्तन गरी ‘भूमि प्रशासन अधिकृत’ बनाइएको जनाइएको छ ।
नाम परिवर्तनसँगै दार्चुला जिल्लाभित्र रहेका संघीय, प्रदेश तथा स्थानीय तहका कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई समेत सोही अनुसार अभिलेख तथा पत्राचार अद्यावधिक गर्न अनुरोध गरिएको छ ।
