दार्चुला । दार्चुलामा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना हटाएर वनको जग्गा फिर्ता ल्याउने अभियान सुरु गरिएको छ । डिभिजन वन कार्यालय दार्चुलाका अनुसार जिल्लाका विभिन्न स्थानमा अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउने कार्य तीव्र पारिएको हो ।
डिभिजन वन कार्यालयको कार्यक्षेत्र अन्तर्गत सामुदायिक वनको कुल क्षेत्रफल आठ हजार ४९४ हेक्टर रहेकोमा हालसम्म १ दशमलव ८५ हेक्टर क्षेत्र अतिक्रमण भएको तथ्याङ्क रहेको कार्यालय प्रमुख परमानन्द कुँवरले जानकारी दिए । उहाँका अनुसार मालिकार्जुन गाउँपालिका–३ र ७ मा वन अतिक्रमण भेटिएकोमा वडा नम्बर ३ मा रहेको अतिक्रमण हटाएर शून्य दशमलव ०१ हेक्टर क्षेत्रफल वनको स्वामित्वमा फिर्ता ल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालयको पत्राचारपछि वन अतिक्रमण हटाउने कार्य अघि बढाइएको उहाँले बताउनुभयो । बाँकी अतिक्रमित क्षेत्रहरूको तथ्याङ्क संकलन गर्ने काम जारी रहेको तथा अतिक्रमण हटाउन सूचना प्रकाशन तथा प्रसारणको कामसमेत भइरहेको उहाँको भनाइ छ ।
जिल्लाको कुल वन क्षेत्रफल दुई लाख ३४ हजार ४६१ हेक्टरमध्ये १ दशमलव ८५ हेक्टर क्षेत्र अतिक्रमणमा परेको पाइएको कार्यालयले जनाएको छ । पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै वन क्षेत्र अतिक्रमण गरी पसल तथा टहरा निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको प्रमुख कुँवरले बताउनुभयो । कतिपय स्थानमा वन पैदावारको गैरकानुनी चोरी निकासीसमेत हुने गरेको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०७०/०७१ देखि नै वन अतिक्रमण हुँदै आएको तथ्य भेटिएको जनाउँदै उहाँले नेपाल सरकारले वन तथा सरकारी जग्गा संरक्षणका लागि निर्देशन दिएपछि जिल्लामा अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइएको जानकारी दिए ।
हाल अतिक्रमित क्षेत्रमा निर्माण गरिएका घर तथा टहराहरू हटाउने काम भइरहेको छ । वन अतिक्रमण नियन्त्रणका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित समुदायको सक्रिय भूमिका आवश्यक रहेको उनले बताए ।
वन स्रोतको उचित संरक्षण र व्यवस्थापनबाट वातावरण संरक्षण, भू–क्षय नियन्त्रण, सिमसार क्षेत्र पुन:स्थापना तथा वन्यजन्तुको बासस्थान संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूले समेत अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन् ।