दार्चुला । दार्चुलामा प्रधानाध्यापक बलदेव सिंह धामीको आत्महत्या प्रकरणमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। सम्पाल माध्यमिक विद्यालय सुन्सेरा, व्याँस गाउँपालिकामा कार्यरत प्रधानाध्यापक धामी सोमबार विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुन गाउँपालिका–२ स्थायी घर भई हाल व्याँस गाउँपालिका–४ स्थित उक्त विद्यालयमा कार्यरत ४६ वर्षीय धामीको मृत्यु झुण्डिएको अवस्थामा भएको पुष्टि भएको छ। घटनापछि प्रहरीले अनुसन्धान तीव्र पार्दै शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेकामाथि आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ। साथै जिल्ला अदालत दार्चुलाबाट १० दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रम सिंह कुँवर, ५२ वर्षीय दलजित भट्ट, ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ वर्षीय परमानन्द भट्ट, ३१ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्र दत्त भट्ट, ५६ वर्षीय हरिदत्त भट्ट तथा बैतडीको पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन्। प्रहरीका अनुसार घटनाको वास्तविक कारण र संलग्नता बारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
