प्रधानाध्यापक धामी मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान गर्न नेपाली कांग्रेस दार्चुलाको माग

दार्चुला । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले व्याँस गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीको मृत्यु घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहरा द्वारा जारी विज्ञप्तिमा प्रधानाध्यापक धामीले २०८३ जेठ ४ गते सामाजिक सञ्जाल फेसबुकमा नोट लेखेर आत्महत्या गरेको घटनाले सिंगो जिल्लालाई स्तब्ध बनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमार्फत मृतक धामीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

विज्ञप्तिमा मृतकले फेसबुकमा लेखेको नोटले आत्महत्या दुरुत्साहनको संकेत गरेको उल्लेख गर्दै घटनाको सघन, निष्पक्ष र तथ्यपरक अनुसन्धान गरी दोषीमाथि शीघ्र कानुनी कारबाही गर्न प्रहरी प्रशासन तथा न्यायिक निकायसमक्ष माग गरिएको छ।

कांग्रेस दार्चुलाले अनुसन्धान कार्यमा आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको जनाउँदै सम्बन्धित सबै पक्षलाई अनुसन्धानमा सहयोग गर्न आग्रह समेत गरेको छ। साथै अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले मनगढन्ते आरोप–प्रत्यारोप नगर्न, भ्रम फैलाउने तथा सामाजिक सद्भाव खल्बल्याउने अभिव्यक्ति सामाजिक सञ्जालमा नदिन पनि सबैमा अपिल गरिएको छ।

सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक धामी सोमबार बिहान विद्यालय परिसरमै मृत अवस्थामा फेला परेका थिए। मृत्युअघि उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ भने दार्चुला जिल्ला अदालतले उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

Leave A Reply

Your email address will not be published.