यार्सागुम्बा संकलनका लागि १५ दिन बन्द भएका अपिका विद्यालय खुले
किन रोकिँदैन यार्सागुम्बा संकलनका बेला विद्यालय बन्द हुने चलन ?
दार्चुला । हिमाली क्षेत्रको मुख्य आयस्रोत मानिने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको सिजन सुरु भएसँगै बन्द गरिएका दार्चुलाको अपिहिमाल गाउँपालिकाका विद्यालयहरू पुन: सञ्चालनमा आएका छन्।
गत वैशाख २७ गतेदेखि १५ दिनका लागि बन्द गरिएका पालिकाभरीका सबै सामुदायिक विद्यालयहरू हिजो सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएका हुन्।
गाउँपालिका शिक्षा शाखा प्रमुख मदनराज जोशीका अनुसार यार्सागुम्बा टिप्ने समयमा विद्यार्थी, शिक्षक र अभिभावक सबै पाटन (लेक) तिर जाने भएकाले पठनपाठन ठप्प हुने स्थिति आउँछ। सोही व्यावहारिक बाध्यतालाई मध्यनजर गर्दै कार्यतालिका नै बनाएर विद्यालयहरूमा बिदा दिइएको थियो। १५ दिनको बिदा सकिएसँगै सोमबारदेखि विद्यार्थी र शिक्षकहरू विद्यालय फर्किएका छन् र पठन पाठन सुरू भएको गाउँपालिकाले जनाएको छ ।
किन रोकिँदैन यार्सागुम्बा संकलनका बेला विद्यालय बन्द हुने चलन?
दार्चुलाको अपिहिमाल,गाउँपालिकाहरूमा यार्सागुम्बा संकलन वर्षभरीको घरखर्च चलाउने र बालबालिकाको पढाइ खर्च जुटाउने मुख्य आर्थिक स्रोत हो।
पारिवारिक सहभागिता: यार्सागुम्बा संकलनका लागि ससाना बालबालिकादेखि वृद्धवृद्धासम्म महिना दिनका लागि थातथलो छोडेर लेकतिर बसाइँ सर्ने गर्छन्।
विद्यार्थीको अभाव: बालबालिकाहरूको आँखा तेज हुने भएकाले उनीहरूले यार्सागुम्बा सजिलै भेटाउने जनविश्वास र अनुभव छ। जसका कारण विद्यालय खुल्लै राखे पनि विद्यार्थी नआउने हुनाले स्थानीय सरकारले नै बिदा दिने निर्णय गर्ने गरेको छ।
“भौगोलिक विकटता र आर्थिक बाध्यताका कारण यहाँ हरेक वर्ष यार्सागुम्बा संकलनको समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउँछ। तर यसरी भएको पढाइको क्षतिको परिपूर्ति आउँदो हिउँदे वा वर्षे बिदा कटौती गरेर गरिनेछ,“ शिक्षा शाखा प्रमुख जोशीले थपे ।
लामो समयपछि विद्यालय खुले सँगै गाउँपालिकाले सम्पूर्ण शिक्षकहरूलाई नियमित रूपमा उपस्थित भई पठनपाठनलाई तीव्रता दिन र छुटेका पाठ्यक्रमहरू समयमै सक्न निर्देशन समेत दिएको छ।