दार्चुला । सामरिक तथा आर्थिक रूपले महत्त्वपूर्ण मानिएको दार्चुला–टिंकर सडक आयोजनाको स्थलगत अनुगमन, निरीक्षण तथा आगामी वर्षको कार्ययोजना निर्माणका लागि नेपाली सेनाको उच्चस्तरीय टोली ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरु पुगेको छ।
नेपाली सेनाको २५ बाहिनीका निमित्त बाहिनीपति महासेनानी तथा दार्चुला–टिंकर सडक आयोजनाका आयोजना प्रमुख (प्रमुख सेनानी) सहितको टोली सुन्सेराबाट नेपालकै बाटो प्रयोग गर्दै विकट हिमाली क्षेत्र छाङरु पुगेको हो। टोलीले निर्माणाधीन सडक र सैनिक क्याम्पको स्थलगत निरीक्षण गर्नुका साथै आगामी वर्ष सडक निर्माण गरिने क्षेत्रको प्राविधिक अध्ययन समेत गरेको छ।
टोली छाङरु पुग्दा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए। नेपाली सेनाको विकास निर्माण गणले गागादेखि छाङरु गाउँसम्म सडक निर्माण गरी आवतजावत सहज बनाएको र ब्याँस क्षेत्रको पहुँच विस्तारमा ऐतिहासिक योगदान पुर्याएको भन्दै स्थानीयले खुसी व्यक्त गरे।
“सेनाले सडक मात्र बनाएको छैन, हाम्रो दु:ख र भूगोललाई पनि जोडेको छ। हाम्रो क्षेत्रको विकासका लागि नेपाली सेनाको यो प्रयास सराहनीय छ,“ स्थानीय एक जेष्ठ नागरिकले भने।
भौतिक पूर्वाधार निर्माणका साथै नेपाली सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विपन्न परिवारका दुई जना बालबालिकालाई सैनिक विद्यालयमा पढाउने जिम्मा (छात्रवृत्ति) समेत लिएको छ। दुर्गम र विपन्न क्षेत्रका बालबालिकाको शिक्षामा सेनाले पुर्याएको यो सहयोगप्रति छाङरुबासीले विशेष धन्यवाद प्रकट गर्दै आभार व्यक्त गरेका छन्।
दार्चुला–टिंकर सडकलाई ब्याँस क्षेत्रको समग्र विकास, सीमा सुरक्षा र स्थानीयको पहुँच विस्तारको मुख्य आधारका रूपमा हेरिएको छ। विकास निर्माण गणको यो अनुगमन र स्थलगत अध्ययनले आगामी वर्षको वार्षिक कार्ययोजनालाई थप प्रभावकारी बनाउने र सडक निर्माण कार्यले तीव्र गति पाउने विश्वास लिइएको छ।
