लास्कुखोलामा संयुक्त विपद् प्रतिकार्य नमुना अभ्यास सम्पन्न

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त विपद् प्रतिकार्य नमुना अभ्यास सम्पन्न गरिएको छ।

आज बिहानआयोजित अभ्यास महाकाली नगरपालिकाकी उपप्रमुख दुर्गा कुमारी खत्री (बिष्ट)को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी दार्चुलाको टोली, पत्रकार तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

विपद्को समयमा हुने सम्भावित जोखिम, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले संयुक्त रूपमा नमुना अभ्यास गरिएको जनाइएको छ। अभ्यासका क्रममा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा खोज तथा उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा निकायले व्यवहारिक प्रदर्शन गरेका थिए।

कार्यक्रममा बोल्दै सहभागीहरूले विपद् व्यवस्थापनमा सबै निकायबीचको समन्वय, तत्परता र पूर्वतयारी अत्यन्त आवश्यक रहेको बताएका थिए। संयुक्त अभ्यासले सुरक्षा निकायबीच सहकार्य मजबुत हुनुका साथै स्थानीय समुदायमा समेत विपद् सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

हरेक वर्ष जिल्लामा मनसुनजन्य जोखिम बढ्दै जाने अवस्थामा यस्ता अभ्यासले आकस्मिक परिस्थितिमा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.