अपिहिमालमा युरोपेली युनियन र फिनल्यान्ड सरकारको उच्चस्तरीय टोलीद्वारा अनुगमन

दार्चुला । अपिहिमाल गाउँपालिकामा सञ्चालित जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (एलएसीसी प्रोजेक्ट नेपाल) को अनुगमन तथा निरीक्षणका लागि युरोपेली युनियन, फिनल्यान्ड सरकार तथा फिनल्यान्ड दूतावासका उच्चस्तरीय प्रतिनिधिमण्डल अपिहिमाल पुगेको छ।

गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बोहरा सहितको टोलीले प्रतिनिधिमण्डललाई पालिकामा स्वागत गर्दै जनप्रतिनिधि र कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ।
पालिका अध्यक्ष ठेकरेका अनुसार अनुगमन टोलीले ग्रामीण जलस्रोत परियोजना तथा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनामार्फत सहयोग प्राप्त विभिन्न योजना तथा संस्थाहरूको स्थलगत निरीक्षण गरेको जनाएको छ ।

निरीक्षण गरिएका योजनामा मल्देश बचत तथा ऋण सहकारी संस्था, कुर्मूल खानेपानी योजना, चौबिसन सिँचाइ तथा बहुउद्देश्यीय योजना, चिल्डुङ्ग्रा खानेपानी योजना, खल्कोट पानी मुहान संरक्षण योजना, नौपाटा खत्तोली सिँचाइ योजना तथा नौपाटा खानेपानी योजना रहेका छन्।

अनुगमनका क्रममा आयोजनाको दिगोपना, गुणस्तरीयता र प्रभावकारिताका विषयमा महत्वपूर्ण छलफल तथा अन्तरक्रिया भएको गाउँपालिकाले जनाएको छ। परियोजनामार्फत स्थानीय समुदायमा जलस्रोत व्यवस्थापन, खानेपानी, सिँचाइ तथा जलवायु अनुकूलनका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको समेत उल्लेख गरिएको छ।

गाउँपालिकाले परियोजनाको सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने सबै सरोकारवाला निकाय, स्थानीयवासी तथा साझेदार संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.