दार्चुला । समुदाय–प्रहरी साझेदारी जिल्ला स्तरीय समितिको मासिक बैठक सम्पन्न भएको छ।
बुधबार समितिका पदाधिकारीहरूको उपस्थितिमा आयोजित बैठकमा जिल्ला स्तरमा सञ्चालन हुने सामुदायिक कार्यक्रमहरूको योजना निर्माण, समन्वय, सञ्चालन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी तथा जनमैत्री बनाउने विषयमा सुझाव आदान–प्रदान गरिएको छ ।
साथै समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै शान्ति सुरक्षा, अपराध न्यूनीकरण तथा सामाजिक सचेतनामूलक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
समितिले आगामी दिनमा विभिन्न सामुदायिक कार्यक्रमहरूलाई समन्वयात्मक ढंगले सञ्चालन गर्दै नागरिक सहभागिता बढाउने र समुदाय–प्रहरी साझेदारी अवधारणालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
बैठकले जिल्लामा सञ्चालन हुने सामुदायिक गतिविधिहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायबीच आवश्यक सहकार्य र समन्वयलाई निरन्तरता दिने निर्णय समेत गरेको जनाएको छ।
