दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ननग्रेडेड (अनुत्तीर्ण) भएका विद्यार्थीहरूका लागि सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा दार्चुलाबाट १ हजार ५९५ जना विद्यार्थी सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका अनुसार जिल्लाभर ननग्रेडेड भएका विद्यार्थीहरूको शैक्षिक भविष्यलाई निरन्तरता दिने उद्देश्यले आगामी असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने भएको हो।
परीक्षाका लागि जिल्लाका चार वटा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। निर्धारण गरिएका केन्द्रहरूमा महेन्द्र माध्यमिक विद्यालय खलंगा, मालिकार्जुन माध्यमिक विद्यालय धाप, गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वर तथा लटिनाथ माध्यमिक विद्यालय रस्कोट (मार्मा) रहेका छन्।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार ग्रेडवृद्धि परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । परीक्षा व्यवस्थापन, प्रश्नपत्र सुरक्षा, जनशक्ति परिचालन तथा परीक्षा केन्द्रहरूको तयारीलाई तीव्र बनाइएको उनले बताए।