दार्चुलामा १४० जनाको रक्त समूह पहिचान

दार्चुला । दार्चुलामा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘म पनि रक्तदाता’ अभियानअन्तर्गत रक्त समूह पहिचान तथा रक्तदान उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा शनिबार सदरमुकाम खलङ्गाको पुलघाट र बसपार्क क्षेत्रमा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न गरिएको हो।

रक्त सञ्चार सेवा उपसमितिका अनुसार कार्यक्रमअन्तर्गत पुलघाटमा ८३ जना र बसपार्क क्षेत्रमा ५७ जना गरी कुल १४० जनाको रक्त समूह पहिचान गरिएको छ। जिल्लामा स्थापना भएको रक्त सञ्चार केन्द्रलाई प्रभावकारी बनाउने तथा सम्भावित रक्तदाताको विवरण संकलन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।

गत वैशाख १३ गते दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना भएपछि त्यसको प्रभावकारी सञ्चालनका लागि ‘म पनि रक्तदाता’ अभियान सुरु गरिएको हो।

रक्त सञ्चार सेवा उपसमितिका सदस्य कृष्णसिंह धामीले रक्तदानप्रति आमनागरिकमा सकारात्मक सोच र सहभागिता बढाउन कार्यक्रम सञ्चालन गरिएको बताए ।

अभियानअन्तर्गत दार्चुला बहुमुखी क्याम्पस, महेन्द्र माध्यमिक विद्यालय खलङ्गा तथा मालिकार्जुन माध्यमिक विद्यालय धापमा समेत रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

रक्त समूह पहिचान गरिएका व्यक्तिहरूलाई रक्तदाता समूहमा आबद्ध गराइनेछ। हाल जिल्ला अस्पतालमा रगत आवश्यक पर्दा यही समूहमार्फत रक्तदाताको खोजी तथा समन्वय गर्ने गरिएको छ। अभियानमा हालसम्म ३३३ जना रक्तदाता समूहमा आबद्ध भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.