दार्चुला । दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट गस्तीमा गएको बेला कुलोमा चिप्लिएर लड्नुभएको थियो।
घाइते भट्टको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा बुधबार बिहान २:१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो।
नौगाड गाउँपालिका–५ होपरीमा रातिको गस्ती सकेर फर्किने क्रममा प्रहरी जवान भट्ट चिप्लिएर लड्नुभएको र तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो। अन्दाजी २५ वर्षीय प्रहरी जवान भट्टको घर बैतडी जिल्लामा रहेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।