दार्चुला । दार्चुलामा सार्वजनिक यातायातको भाडादर पुनरावलोकनका लागि गठित भाडादर अध्ययन तथा सिफारिस समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी एवं जिल्ला भाडादर निर्धारण समितिका संयोजक अनिल पौडेललाई बुझाएको छ।
एक महिना अघि सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको संयोजकत्वमा तीन सदस्यीय जिल्ला भाडादर सिफारिस स्थलगत समिति गठन गरिएको थियो।
समितिले गत वैशाख २९ गतेदेखि जेठ २८ गतेसम्म जिल्लाका विभिन्न सडक खण्डको स्थलगत अध्ययन गरी वैज्ञानिक, व्यावहारिक तथा कार्यान्वयनयोग्य भाडादर कायम गर्ने उद्देश्यसहित प्रतिवेदन तयार गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक धामीका अनुसार प्रतिवेदन बिहीबार प्रमुख जिल्ला अधिकारी पौडेललाई हस्तान्तरण गरिएको हो। समितिका अन्य सदस्यहरूमा जिल्ला समन्वय समितिका इन्जिनियर कविराज अवस्थी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई इन्द्रसिंह डागा रहेका थिए।
समितिले जिल्लाभित्र विगत दुई वर्षदेखि कायम रहेको सार्वजनिक यातायातका सवारी साधनहरूको भाडादर पुनरावलोकन गर्न विभिन्न सडक खण्डहरूको स्थलगत अध्ययन गरेको थियो। साथै स्थानीय तहहरूबाट प्राप्त पालिकाअन्तर्गतका सडकमा प्रचलित भाडादर, सडकको अवस्था, यातायात व्यवस्था विभागले निर्धारण गरेको मापदण्ड, इन्धन मूल्यवृद्धि तथा सर्वसाधारणबाट प्राप्त गुनासो र सुझावलाई आधार बनाएर प्रतिवेदन तयार गरिएको धामीले जानकारी दिए।
समितिले पेश गरेको प्रतिवेदन जिल्ला भाडादर निर्धारण समितिले अध्ययन तथा आवश्यक निर्णय गरेपछि आगामी आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि लागू गरिने बताइएको छ। नयाँ भाडादर लागू भएपछि जिल्लाभित्र सार्वजनिक यातायात सेवामा एकरूपता कायम हुने र यात्रु तथा व्यवसायी दुवै पक्षलाई सहज हुने अपेक्षा गरिएको छ।