दार्चुलामा १ हजार ३ सय ६८ केजी अवैध वनपैदावारसहित चार जना पक्राउ

दार्चुला । दार्चुलामा प्रहरीले ठूलो परिमाणमा अवैध वनपैदावार बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय हुती, प्रहरी चौकी हिकिला र प्रहरी चौकी ब्रह्मदेवबाट खटिएको संयुक्त प्रहरी टोलीले दुहुँ गाउँपालिका–३ कालिगाड क्षेत्रमा महाकाली नदी किनारबाट नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको अवैध वनपैदावार बरामद गरेको हो।

प्रहरीले ३९ बोरामा राखिएको १ हजार ३ सय ६८ किलोग्राम अवैध धुप रजडिबुटीजन्य वनपैदावार बरामद गरेको जनाएको छ।बरामद सामग्रीको अनुमानित मूल्य करिब ३ लाख ४२ हजार रुपैयाँ रहेको छ।

उक्त वनपैदावार ओसारपसारमा संलग्न चार जनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अपिनाम्पा संरक्षणक्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीले वन सम्पदाको अवैध निकासी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।

Leave A Reply

Your email address will not be published.