भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली नदी छेउछाउका नागरिकलाई सतर्क रहन आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। परियोजनाको बाँध खोलिने भएकोले महाकाली नदीमा जलस्तर बढ्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, दार्चुलाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै असार १२ गते (शुक्रबार) बिहान ६ बजेदेखि असार १३ गते (शनिबार) अपरान्ह ५ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिएको छ ।

प्रशासनका अनुसार करिब ३५ घण्टासम्म परियोजनाको ’सिल्ट’ (बालुवा र माटो) सफाइको कार्य गर्नुपर्ने भएकाले बाँध खोलिन लागेको हो। यस विषयमा भारतको पिथौरागढ, धारचुलास्थित एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसनले नेपाली पक्षलाई पत्राचार गरी जानकारी गराएको थियो।
बाँध खोलेको समयमा र त्यसपछि पनि नदीको बहाव एक्कासी बढ्न सक्ने भएकाले महाकाली नदीको किनारमा दाउरा टिप्न, माछा मार्न, वस्तुभाउ चराउन वा अन्य कुनै पनि बहानामा नजान प्रशासनले सचेत गराएको छ।परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ।

Leave A Reply

Your email address will not be published.