दार्चुला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दार्चुलामा सञ्चालन गर्दै आएको सहुलियत दरको चामल बिक्री शुक्रबारदेखि बन्द गरेको छ। जिल्लाका लागि निर्धारण गरिएको ५ सय क्विन्टल चामलको कोटा पूर्ण रूपमा बिक्री भएपछि कम्पनीले सहुलियत बिक्री कार्यक्रम रोकिएको जनाएको हो।
कम्पनीले असार १२ गतेदेखि दार्चुलाको खलंगा शाखा कार्यालय र अपीहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीस्थित डिपोमार्फत सहुलियत दरमा चामल बिक्री सुरु गरेको थियो। योजनाअनुसार अरुवा मोटो र स्टिम जिरा मसिनो चामलमा प्रतिकिलो १० रुपैयाँ छुट प्रदान गरिएको थियो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी दार्चुला शाखाका प्रमुख हर्कराज उपाध्यायका अनुसार सहुलियतपछि मोटो चामल प्रतिकिलो ४६ रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ७४ रुपैयाँमा बिक्री गरिएको थियो। २५ किलोग्रामको बोरामा मोटो चामल १ हजार १५० रुपैयाँ र स्टिम जिरा मसिनो चामल १ हजार ८५० रुपैयाँमा उपभोक्तालाई उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार कम्पनीको केन्द्रीय कार्यालयबाट प्राप्त सर्कुलरअनुसार तोकिएको परिमाणको चामल बिक्री सम्पन्न भएसँगै सहुलियत बिक्री रोकिएको हो। अबदेखि मोटो चामल प्रतिकिलो ५६ रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८४ रुपैयाँमा बिक्री गरिनेछ।
प्रतिकिलो १० रुपैयाँ छुटमा चामल उपलब्ध भएपछि खलंगा र खण्डेश्वरी दुवै स्थानमा उपभोक्ताको उल्लेख्य भीड लागेको थियो। माग बढेसँगै शुक्रबार नै जिल्लाका लागि छुट्याइएको सम्पूर्ण कोटा सकिएको कम्पनीले जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुलाभर १८ वटा बिक्री केन्द्रमार्फत नियमित रूपमा चामल वितरण गर्दै आएको छ। तर सहुलियत दरको चामल भने कम्पनीका आफ्नै कर्मचारी रहेको खलंगा र खण्डेश्वरीबाट मात्र बिक्री गरिएको थियो। अन्य बिक्री केन्द्रहरू स्थानीय तह र वडा कार्यालयसँगको समन्वयमा सञ्चालन हुँदै आएका छन्। कम्पनीका अनुसार दैनिक कारोबार व्यवस्थापनको जटिलताका कारण अन्य बिक्री केन्द्रमार्फत सहुलियत दरको चामल बिक्री गर्न सम्भव नभएको हो।
यो समाचार पनि पढ्नुस्–
दार्चुलामा चामल प्रतिकिलो १० रुपैयाँ सहुलियत, असार मसान्तसम्म लागू