दार्चुला जिल्ला अदालतमा गतवर्ष १७७ वटा मुद्दाहरु फस्र्यौट गरिएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा ७६.२९ प्रतिशत मुद्दाहरु फस्र्यौट भएका हुन । अघिल्लो वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरिआएका ६८ मुद्दा र आर्थिक वर्ष २०८२/८३ मा १६४ नयाँ मुद्दा दर्ता भएको जिल्ला अदालतको तथ्याङ्क छ ।
२०८२ असार मसान्तसम्मको कुल मुद्दा संख्या २३२ रहेकोमा १७७ मुद्दा फस्र्यौट भएको जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीले जानकारी दिए । अब ५५ मुद्दाहरुको नयाँ आर्थिक वर्षमा जिम्मेवारी सरेको छ । दुई वर्ष नाघेको कुनै पनि मुद्दा जिल्ला अदालतमा नरहेको उनले बताए । १८ महिना नाघेको एउटा मुद्दा र १८ महिनाभित्रका ५४ मुद्दा मात्रै जिल्ला अदालतमा विचाराधिन रहेको बताइएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा मेलमिलाप सम्बन्धि २८ मुद्दाहरु रहेकोमा मेलमिलापकर्ताबाट ६ मुद्दा टुंगिएको र १७ मुद्दा अदालतको फैसलाबाट फस्र्यौट गरिएका छन् । अदालतमा बालवालिका संलग्न भएका मुद्दाहरुको संख्या १० छ । गतवर्ष दर्ता भएका ६ र अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका ४ मुद्दा रहेको जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले बताए ।
यीमध्ये ४ वटा मुद्दा १२० दिनभित्र फस्र्यौट गरिएका छन् भने १२० दिन नाघेर ५ मुद्दा फस्र्यौट गरिएका छन् । वालवालिका संलग्न भएको एउटा मुद्दा भने टुंगिन बाँकी छ । जिल्ला अदालतमा गतवर्ष विशेष प्रकृतिका र फुटकर गरी ७३ वटा निवेदन दर्ता भएकोमा ६९ निवेदन फस्र्यौट गरिएका छन् । ३ वटा फुटकर निवेदन मात्रै फस्र्यौट हुन बाँकी रहेको अदालतको अभिलेख छ । मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार भएपछि अदालत कर्मचारी एवं प्रहरी कर्मचारी सम्मानीत भएका छन् ।