काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन् ।
दार्चुलाबाट आज प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारलाई जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि साउन ५ गते सम्मको समयसीमा दिएपनि पूरा नभएको भन्दै उनले सत्याग्रहको घोषणा गरेका हुन् ।
उनले सरकारसँग ५ बुदेँ माग अघि सारेका छन् । स्वार्थको द्वन्द्व हुने गरी सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गर्नुपर्ने उनको माग छ ।
सरकारले चिकित्सा शिक्षा आयोगमा प्राध्यापक देवेन्द्र खत्रीलाई नियुक्ति गरेको छ । उनी नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) मा कार्यरत थिए । त्यस्तै प्राध्यापक सुनिलकुमार जोशी सहिद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन्।
चिकित्सा शिक्षा आयोगमार्फत् छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार विना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने डा. केसीको अर्को माग छ । चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउन कानुनी ऐनका कानुनी प्रावधानहरु कार्यान्वयन गरिनुपर्ने उनको अर्को माग छ ।
विगतका सरकारसँग भएका लिखित सहमतिहरु कार्यान्वयन गर्न पनि उनले माग गरेका छन् । ‘सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस्,’ उनले विज्ञप्तिमा भनेका छन ।
२३ र २४ भाद्र २०८२ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने उनको अर्को माग छ । २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग राखेका छन् ।
उनी कहाँ सत्याग्रहमा बस्छन भन्ने चाँहि एकिन भएको छैन । यसअघि पनि उनी करिब दुई दर्जन पटक आमरण अनशनमा बसेका थिए । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको उनको मुख्य मागहरु हुने गरेका छन् ।