दार्चुला । सामाजिक विकास कार्यालय दार्चुलाको बेरुजु शुन्य रहेको छ । कर्मचारी अभावकाबीच पनि सामाजिक विकास कार्यालय दार्चुलाले पछिल्ला वर्षमा बेरुजु शन्य अवस्थामा रहेको जनाएको हो ।
मुख्यगरी शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रका भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको कार्यालयले हालसम्म कार्यालयको बेरुजु शुन्य रहेको कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिए ।
आर्थिक वर्ष २०७७–०७८ देखि हालसम्म कार्यालयले विद्यालय भवन, आइसिटी ल्याब, खेलमैदान, घेरपर्खाललगायतका दर्जनौं पूर्वाधार निर्माण सम्पन्न गरेको उनले बताए ।
कार्यालय प्रमुख रामचन्द्र ओझाका अनुसार छ वर्षको अवधिमा २ कोठे विद्यालय भवन ६१ वटा र ४ कोठे विद्यालय भवन ८ वटा निर्माण भएका छन् ।
यस अवधिमा अनाथ बालबालिकाका लागि एक भवन, विद्यालयका १४ वटा घेरपर्खाल, २३ वटा आइसिटी ल्याब तथा ११ वटा विद्यालय खेलमैदान निर्माण गरिएको उनले जानकारी दिए ।
त्यसैगरी २ वटा सामुदायिक भवन, ५ वटा विद्यालय खानेपानी आयोजना, ३ वटा मन्दिर तथा समुदायस्तरमा ४ वटा खेलमैदान निर्माण गरिएको छ । पूर्वाधार विकाससँगै कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।
गत आर्थिक वर्ष २०८२–०८३ मा कार्यालयलाई पूँजीगततर्फ ५ करोड ४२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ४ करोड ७० लाख ३२ हजार १२४ रुपैयाँ खर्च भएको छ । चालूतर्फ विनियोजित ३ करोड ६५ लाख ८७ हजार रुपैयाँमध्ये २ करोड ९६ लाख ८२ हजार ३८३ रुपैयाँ खर्च गरिएको छ । त्यसैगरी संघीय सशर्त कार्यक्रमअन्तर्गत १२ लाख ७६ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
सात जनाको दरबन्दी रहेको कार्यालयमा हाल स्थायी रूपमा दुई जना कर्मचारी मात्रै कार्यरत छन् भने दुई जना करार कर्मचारीमार्फत सेवा प्रवाह भइरहेको उनले बताए
