बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

भक्तपुर  क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्यान्सर उपचाररत बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ।
अस्पतालले सूचना जारी गर्दै बाढीबाट प्रभावित भई उपचारका लागि आउने बिरामीलाई अस्पतालमा उपलब्ध निःशुल्क उपचार सेवाअन्तर्गत बेड चार्ज, प्रयोगशाला परीक्षण शुल्क र अक्सिजन शुल्क नलिने जनाएको हो। साथै, उपलब्ध भएसम्म आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।
भक्तपुर क्यान्सर अस्पतालले यसअघि नै कुल बेड संख्याको १० प्रतिशत बेडमा निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ। यही व्यवस्थाअन्तर्गत रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्यान्सर बिरामीलाई पनि सेवा उपलब्ध गराइने अस्पतालको सूचनामा उल्लेख छ।
त्यस्तै, विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारले उपलब्ध गराउँदै आएको क्यान्सर उपचारसम्बन्धी विभिन्न सुविधासमेत लिन सक्ने अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार स्वास्थ्य बिमा, प्रदेश सरकारबाट उपलब्ध हुने सुविधा तथा विपन्न नागरिकका लागि सरकारले प्रदान गर्ने क्यान्सर उपचार सेवामा आवश्यक सहजीकरणसमेत गरिनेछ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले विपद्को समयमा उपचारबाट वञ्चित हुन नदिन बाढी प्रभावित क्यान्सर बिरामीलाई अस्पतालले आवश्यक सहयोग गर्ने बताउनुभयो।
“विपद्को समयमा उपचाररत बिरामीलाई थप समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले उपलब्ध स्रोत र साधनअनुसार निःशुल्क उपचार तथा आवश्यक सहयोगको व्यवस्था गरेको हो,” डा. चालिसेले भन्नुभयो।
अस्पतालले बाढी प्रभावित क्षेत्रका उपचाररत क्यान्सर बिरामीलाई आवश्यक कागजातसहित अस्पतालमा सम्पर्क गरी सेवा लिन आग्रहसमेत गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.