दुबईमा भारतीय मुख्यमन्त्री यादव र नेपाली कूटनीतिक विज्ञ रिजवान आलमबीच भेट

दुबई ।
भारतको मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र नेपालका सुनसरी मूलघर भएका कूटनीतिक तथा व्यापारिक विज्ञ रिजवान आलमबीच दुबईमा उच्चस्तरीय भेटवार्ता भएको छ। मध्य प्रदेशमा वैदेशिक लगानी भित्र्याउने तथा अन्तर्राष्ट्रियस्तरमा रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित ‘इन्भेस्ट इन मध्य प्रदेश’ अन्तरक्रियात्मक कार्यक्रममा उनीहरूबीच भेट भएको हो।

कार्यक्रममा भारतीय राज्य मध्य प्रदेशका मुख्यमन्त्री यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने नेपाली कूटनीतिक तथा व्यापारिक विज्ञ आलमलाई विशिष्ट अतिथिका रूपमा सहभागी गराइएको थियो। मुख्यमन्त्री यादवको विशेष निमन्त्रणामा आलम कार्यक्रममा सहभागी भएको बताइएको छ।

दुबईमा रहेर दक्षिण एसिया, भारत तथा मध्यपूर्वका मुलुकसँग सम्बन्धित कूटनीतिक, भूराजनीतिक र व्यापारिक विषयमा सक्रिय आलमसँग मुख्यमन्त्री यादवले अन्तर्राष्ट्रिय लगानी, आर्थिक सहकार्य र रणनीतिक साझेदारीका सम्भावनाबारे छलफल गरेका थिए।

भेटका क्रममा नेपालले पछिल्लो समय जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण भोगिरहेको संकटको विषय पनि उठाइएको थियो। आलमले जलवायु परिवर्तनको प्रभावबाट नेपालले ठूलो चुनौती सामना गरिरहेको उल्लेख गर्दै प्राकृतिक विपद्बाट प्रभावित मुलुकलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या नभएको उल्लेख गर्दै उनले यसको असर न्यूनीकरण तथा दीर्घकालीन समाधानका लागि विश्व समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

सुनसरी घर भएका रिजवान आलम दक्षिण एसिया, भारत, अरब क्षेत्र तथा मध्यपूर्वसँग सम्बन्धित कूटनीतिक र व्यापारिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। मुख्यमन्त्री यादवसँग यूएईमा आलमको यो दोस्रो उच्चस्तरीय भेटवार्ता भएको बताइएको छ ।

कार्यक्रममा भारतको आर्थिक वृद्धि, नीतिगत सुधार, पूर्वाधार विकास, नवप्रवर्तन र दिगो विकासका विषयमा समेत छलफल भएको थियो। मुख्यमन्त्री यादवले भारतमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण भइरहेको बताउँदै विश्वभरका लगानीकर्तालाई भारतसँग दीर्घकालीन व्यावसायिक साझेदारी गर्न आह्वान गरे ।

मध्य प्रदेशलाई वैदेशिक लगानीका लागि सम्भावनायुक्त गन्तव्यका रूपमा प्रस्तुत गर्दै यादवले राज्यमा उपलब्ध प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, आधुनिक पूर्वाधार, विस्तारिँदो बजार, लगानीमैत्री नीति तथा रणनीतिक भौगोलिक अवस्थालाई लगानीका प्रमुख आधारका रूपमा उल्लेख गरे ।

दुबईमा भएको यादव–आलम भेटलाई भारतको मध्य प्रदेश र अन्तर्राष्ट्रिय कूटनीतिक तथा व्यापारिक क्षेत्रबीच सहकार्यका सम्भावना खोज्ने महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.