सेकेन्ड लेफ्टिनेन्ट भएलगत्तै पहिलो पोस्टिङ थियो रसुवा, अझै सम्पर्कमा छैनन् दार्चुलाका देवसिंह

काठमाडौं । भदौ १० गते बिहान १० बजेतिर रसुवाको टिमुरे पोस्टका इन्चार्ज सहायक सेनानी देवसिंह धामीको मोबाइल बन्द थियो। रसुवामा ठूलो बाढी आएको खबर सुनेपछि काठमाडौँमा भएका जेठा छोरा भूपेन्द्रले बुबालाई फोन गरे। तर फोन स्विच अफ भन्यो। पटकपटक गर्दा पनि सम्पर्क हुन सकेन।

हरेक दिन प्राय: बेलुका मात्रै कुराकानी हुन्थ्यो। अघिल्लो दिन बेलुका पनि देवसिंहले काठमाडौँमा भएका परिवारसँग भिडिओ कलमा कुरा गरेका थिए। सबै खबर ठिकठाकै थियो। छोराहरूलाई राम्रो पढ्नु भन्दै त्यो दिन फोनमा कुरा टुंग्याएका थिए।

देवसिंह वैशाखमा रसुवा पोस्टिङ भएका हुन्। गत वर्ष जमदार हुँदै सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) मा भिडेर उनले नाम निकालेका थिए। भक्तपुरको खरिपाटीमा तालिम सकेपछि पहिलो पोस्टिङ नै रसुवाको श्रीनाथ गणमा भयो।

त्यसपछि सोही गण मातहतको टिमुरे पोस्टमा खटिएका थिए। बाढी आउँदा पनि उनी पोस्टमै थिए।

२०६२ असोजमै नेपाली सेनाको सैन्य तहमा भर्ना भएका उनी २० वर्षमा बढुवा हुँदै जम्दारसम्म पुगेका थिए। तर आन्तरिक प्रतिस्पर्धाबाट अघिल्लो वर्ष अधिकृत बने।

उनी रसुवा गएपनि श्रीमती र दुई छोरा काठमाडौँमै बस्थे। बाआमा दार्चुलाको लेकम गाउँपालिका ४ मा छन्।

देवसिंह खटिएकै क्षेत्रमा बाढी आएको खबरपछि दुवैतिरको मन रसुवातिरै पुग्यो।

बाढी आएको दिन कुरा हुन नसके पनि परिवारलाई यत्तिका दिन नभेटिएलान् भन्ने चाहिँ थिएन। देवसिंह सेना भएकाले पनि अरुको उद्धार गर्ने फौज आफै असुरक्षित भए होलान् भन्ने परिवारले सोचेनन्।

उनीहरूले त सोचेका थिए– बाढीले बिजुली र टेलिफोन टुटायो। फोन चल्न थालेपछि सम्पर्क होला। त्यसपछि उनीहरू सामाजिक सञ्जालबाट रसुवा बाढीका फोटो भिडिओ नियाल्न थाले। बाढीबारे आएका फोटो भिडिओ अत्यासलाग्दा देखिन्थे।

‘त्यसपछि गणमा फोन गर्न खोजेँ। फोन सम्पर्क भएन। टावरसावर सबै लगिसकेको रहेछ,’ बुधबार साँझ भूपेन्द्रले भने, ‘तर पनि सुरक्षित नै हुनुहुन्छ होला, आर्मी मान्छे, जसरी भए पनि आफ्नो ज्यानको सुरक्षा गर्नु भयो होला भन्ने सोचेँ, आफ्नो मन बुझाउँदै थिएँ।’

तर पछि श्रीनाथ गणबाट उहाँहरू बसेको पोस्ट नै सबै बगाएर लगिसकेको भन्ने खबर आयो। तर देवसिंहको अवस्थाबारे भने केही जानकारी आएन। त्यहाँका क्याप्टेनले फोन गरेर परिवारलाई खोजतलास भइरहेको जानकारी गराएका थिए। उनले भूपेन्द्रलाई नआत्तिनुस्, चिन्ता नगर्नुस्, परिवारलाई पनि सम्झाउनुस् भने।

खोजी चलिरहेको थियो। भेटिएको खबर आउला भनेर पर्खिरहेको परिवार थियो। १५–१६ गते तिर फेरि उताबाट फोन आयो। दाजुभाइमध्ये डीएनएका लागि नमुना दिन प्रहरी अस्पताल महाराजगन्ज जान भनियो।

भूपेन्द्रका बुबा देवसिंह जस्तै बाढीपछि ५ हजार १३२ जना सम्पर्कमा छैनन्। नेपाली सेनाकै ४५ जना हराएकामा एक जनाको पनि पत्तो छैन। नेपाल प्रहरीका २८ जना हराएकामा तीन जनाको शव फेला पर्‍यो। सशस्त्रका एक जनाको शव फेला पर्‍यो, १२ जना अझै बेपत्ता छन्।

यता बाढीमै परेका १ हजार ३६९ जनाको शव फेला परेको छ। तर ती शव कसका हुन् भन्ने चिन्न सकिएको छैन। नचिनेका शवहरू सुरक्षाकर्मीले पुरेर राखेका छन्।

ती शवको पनि डीएनए परीक्षण गरिँदैछ। बेपत्ताका आफन्तको पनि डीएनएका लागि नमुना संकलन भइरहेको छ। डीएनए मिलेपछि जुन शव जसको हो, उसैको परिवारलाई दिनेगरी संकेत गरेर जमिनमा राखिएको छ।

देवसिंहका कान्छा छोरा अनिलले प्रहरी अस्पतालमा गएर डीएनएका लागि नमुना दिइसकेका छन्। अब सकुशल भेटिने आश झनझन् कमजोर बन्दैछ। तर परिवार देवसिंह सकुशल भेटिने आशमा यो महिनासम्म कुर्ने योजनामा छन्।

नेपाली सेनाले पनि आधिकारिक जानकारी दिइसकेको छैन।

‘उहाँ त हाम्रो मात्रै होइन, नेपाली सेनाको पनि मान्छे हो। देशकै लागि २१ वर्ष योगदान गरिसक्नु भएको छ। सेनाले आधिकारिक रुपमा जानकारी नदिएसम्म के गर्ने भन्ने अन्यौलमै छौँ। डीएनएको रिपोर्ट कहिले आउँछ, यो महिनासम्म चाहिँ कुर्नु पर्ला भन्ने सोचेको हो,’ भूपेन्द्रले भने, ‘सबै उहाँले नै गाइड गर्नुहुन्थ्यो। अब उहाँ नभएपछि सोच्नै सकेको छैन।’

उता दार्चुलाको लेकम गाउँपालिका ४ मा देवसिंहका वृद्ध बाआमा छन्। उनीहरूले वडाध्यक्ष महेन्द्रराज जोशीलाई छोरो खोजिदिन आग्रह गरेका छन्। खोजी भइरहेको खबर सुनाउँछन् जोशी। तर बाआमा अत्यासमा छन्।

जोशीले नै आफ्नो गाउँका सैनिक देवसिंह धामी बाढीमा बेपत्ता भएको जानकारी सांसद गणेशसिंह ठगुन्नालाई गराए। ठगुन्नाले बाढीमा परेका दार्चुलाका नागरिकबारे बुधबार संसदमा कुरा उठाउँदै खोजी कार्यमा तदरुकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

आफ्ना हराएका सैनिकबारे अहिलेसम्म केही पत्ता नलागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

‘अहिलेसम्म कोही भेटिएको जानकारी छैन। हामीले बेपत्ता सैनिकका परिवारको डीएनए लिने काम गरिरहेका छौँ। परिवारसँग समन्वय गर्न हेल्प डेस्क बनाएका छौँ। त्यहीँबाट परिवारसँग समन्वय भइरहेको छ,’ प्रवक्ता बस्नेतले भने।

नेपाली सेना अहिले पनि खोजी तथा उद्धारमै केन्द्रित रहेको उनले बताए। बेपत्ता सैनिकका परिवारको हकमा के गर्ने भन्ने विषयमा संगठनले नियम अनुसारको तयारी गरिरहेको पनि उनको भनाइ छ।

रोजगारीले रसुवा पुर्‍यायो देब सिंहलाई, बाढीपछि सम्पर्कविहीन छोराको बाटो हेर्दै वृद्ध आमाबुवा

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.