दार्चुला । अपिहिमाल गाउँपालिका–५ मा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ। वडा – ५ को आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडाभित्र सञ्चालित सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको सहभागितामा भदौ २५ र २६ गते भवानी माध्यमिक विद्यालय, सौगन्नामा कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीहरूमा लुकेर रहेका ज्ञान, सीप, कला तथा सिर्जनशीलतालाई प्रस्फुटन तथा परिष्कृत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम वडा – ५ का सदस्य धनसिंह धामीको अध्यक्षता तथा वडा अध्यक्ष राजेन्द्रसिंह धामीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तथा सूचना अधिकारी मदनराज जोशीले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा पहिचान तथा क्षमता विकासका लागि विभिन्न विधामा प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
आधारभूत तह (कक्षा १–३) तर्फ चित्रकला, पठन सीप, म्युजिकल चेयर, हिसाब दौड र अंग्रेजी हस्तलेखन प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
त्यस्तै, आधारभूत तह (कक्षा ४–५) तर्फ हाजिरीजवाफ, हिसाब दौड, हिज्जे तथा श्रुतिलेखन प्रतियोगिता सञ्चालन गरिएको थियो। आधारभूत तह (कक्षा ६–८) तर्फ हाजिरीजवाफ, निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको सूचना अधिकारी जोशीले बताए ।
माध्यमिक तह (कक्षा ९–१०) मा अन्तरसदनात्मक हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो। खुलातर्फ कविता/गीत/गजल वाचन, कथा वाचन, शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनी, वाद्यवादन (दमाहा बाजा) र कमेडी/चुटकिला/नाटक लगायतका प्रतियोगिता आयोजना गरिएको थियो।
विद्यालयले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको भन्दै वडा अध्यक्षसहित वडा परिवारप्रति आभार व्यक्त गरेको छ। यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूको ऊर्जालाई सही मार्गदर्शन गर्न, क्षमता विकास गर्न र विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको भनाइ छ।
कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै एकअर्काबाट सिक्ने र सिकाइका अनुभव आदानप्रदान गर्ने वातावरणसमेत सिर्जना गरेको जनाइएको छ।
विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै कार्यक्रम सफल बनाउन खटिएका आयोजक, निर्णायक मण्डल, शिक्षक तथा कर्मचारी, अभिभावक र सम्पूर्ण विद्यार्थीलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ।
कार्यक्रममा शिक्षाप्रेमी, समाजसेवी तथा बुद्धिजीवी चन्द्रसिंह धामी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन वडा सचिव रतनसिंह धामीले गरेका थिए।
