काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार आज ३३ जिल्लामा वडा अधिवेशन सुरु भएको छ ।
तोकिएका ३३ जिल्लामा आजै अधिवेशन प्रक्रिया अघि बढाइनेछ । बाँकी जिल्लामा स्थानीय अनुकूलता हेरेर अधिवेशन गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
“नुवाकोट, रसुवा र धादिङमा असोज ७ गतेभित्र अधिवेशन गर्ने तयारी छ भने मधेसका जिल्लाहरूमा असोज ४ गते वडा अधिवेशन गरिनेछ,” उनले बाह्रखरीसँग भने, “यसका लागि सबै नेताहरू आ–आफ्नो वडामा पुगिसक्नुभएको छ । उपस्थित हुन नसक्नेहरूले वारिसमार्फत प्रक्रिया गराउनुहुनेछ ।”
पाँचथर, झापा, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, मोरङमा आज वडा अधिवेशन हुँदै छ ।
काठमाडौं उपत्यका तथा आसपासका दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकमा पनि आजै वडा अधिवेशन हुने उनले बताए । गण्डकी प्रदेशका सबै जिल्लाहरूमा यसै दिन वडा अधिवेशन हुने उनले जानकारी दिए ।
लुम्बिनी प्रदेशका गुल्मी र नवलपरासी, बाँकेमा भने आज र भोलि दुई दिन गरेर वडा अधिवेशन हुनेछ । कर्णालीका रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख र सुर्खेत, सुदूरपश्चिम प्रदेशका अछाम, दार्चुला, बैतडी र कैलालीमा पनि आजै वडा अधिवेशन हुँदै छ । बाँकी जिल्लाहरूमा पनि स्थानीय परिस्थिति मिलाएर चाँडै अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ ।
