दार्चुलाको महाकाली नगरपालिकामा वल्र्डलिंकले सुरू गर्‍यो मनोविकास अभियान

दार्चुला ।  वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रम साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा मनोविकास अभियान सुरू गरेको छ ।

मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम, प्रारम्भिक पहिचान तथा पालिकाको मानसिक स्वस्थ्य नीति र प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले कार्यक्रम सुरू गरिएको कम्पनीले जनाएको छ ।

महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरको अध्यक्षता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला र स्थानीय सरकारका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रममा वल्र्डलिंककी सीएसआर निर्देशक तथा प्रमोटर सेयरहोल्डर, अनुपा भण्डारी जालानले मनोविकास अभियान कुनै एकल कार्यक्रम नभई व्यक्ति, परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारलाई जोड्दै पालिकाको मानसिक स्वास्थ्य नीति निर्माण र प्रणालीलाई सुदृढ गर्ने साझा प्रयास रहेको बताइन् ।

वल्र्डलिंक सीएसआरले विगत पाँच वर्षदेखि विभिन्न जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । साइकडेस्क फाउन्डेसनसँगको तीन वर्षे साझेदारीअन्तर्गत धनगढी, विराटनगर र पोखरामा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम र साइड वाक टक कार्यक्रम ३ – ३ महिना गरेर ९ महिना सञ्चालन गरेका थियो ।

साथै, एक वर्षअघि दार्चुलाको महाकाली, बैतडीको मेलौली र काठमाडौको कागेश्वरी ३ वटा पालिकाहरुमा गरिएको मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनबाट प्राप्त आवश्यकता र सुझावका आधारमा यस वर्षको मनोविकास अभियानको अवधारणा तयार गरिएको कम्पनीले जनाएको छ ।

परियोजनाको कार्यक्षेत्र महाकाली नगरपालिका छनोट हुनुमा स्थानीयस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति तथा सेवाको सीमिततासँगै नगरपालिकाले देखाएको नेतृत्व, इच्छाशक्ति र सहकार्यको प्रतिबद्धता महत्वपूर्ण आधार बनेको भण्डारी जालानले बताइन् ।

परियोजनाको १० महिनाको कार्यान्वयन अवधिमा महाकालीका विद्यार्थी र शिक्षक मार्फत सरकारी विद्यालयहरु देखि समुदाय सम्ममा मनोसामाजिक सहयोग प्रणाली सुदृढ गर्ने, महिला स्वयंम् सेविका मार्फत वडास्तरमा प्रसुति तथा प्रसुतिपछिको मानसिक स्वास्थ्यमा सहयोग र सचेतना गर्ने, इन्टरनेट जखिम र सुरक्षा बाट हुन सक्ने मानसिक जोखिमलाई घटाउने बारेमा विद्यार्थीहरूलाई सचेतना कार्यक्रम संचालन गर्ने र पालिकाको मानसिक स्वास्थ्य नीति निर्माण तथा अनुमोदनमा सहजीकरण गर्ने लक्ष्य राखिएको भण्डारी जालानले जानकारी दिइन् ।

परियोजनाबाट करिब ३ हजार जना प्रत्यक्ष रूपमा लाभान्वित हुने उनको भनाइ छ । पालिकाको मानसिक स्वास्थ्य नीतिको पहिलो चरणको छलफल सम्पन्न भइसकेको छ । वरिष्ठ मनोविद तथा साइकडेस्कका सस्थापक डा.नरेन्द्रसिह ठगुन्नाले नगरपालिका नागरिकको मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने व्यावहारिक र स्थानीय सन्दर्भअनुकूल नीति निर्माणमा योगदान पुग्ने अपेक्षा रहेको बताए ।

वल्र्डलिंकले यस अभियानका लागि महाकाली नगरपालिकाको सहकार्य र प्राविधिक सहजीकरणका लागि साइकडेस्क फाउन्डेसनप्रति आभार व्यक्त गरेको छ । वल्र्डलिंकको सीएसआर अन्तर्गतको परियोजना महाकाली नगरपालिकाको समुदायमा आधारित, पहुँचयोग्य र मानसिक स्वास्थ्य नीति निर्माण र प्रणाली विकास गर्न योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.