मडगाउँ बस्ती पुनर्स्थापनाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
१८ घर पूर्ण रूपमा चर्किए, १० घर भत्किए
दार्चुला । जमिन धसिँदा दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्ती विस्थापित भएपछि बस्ती पुनस्र्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापन बुझाइएको छ ।
जमिन निरन्तर धसिँदै गएपछि मडगाउँस्थित खर्क बस्ती पूरै विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिए । २५ परिवार रहेको बस्ती विस्थापित भएपछि बस्ती पुनस्र्थापनाको माग गर्दै मुख्यमन्त्री भट्टलाई गाउँपालिका र स्थानीयको तर्फबाट ज्ञापन बुझाइएको गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिए।
उनले भने, “बस्तीका सबै जसो घर चर्किएपछि खर्क बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । मुख्यमन्त्री भट्टलाई बस्तीको सुरक्षा जोखिम न्यूनीकरण गर्न र जमिन तथा बस्ती संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन ज्ञापनपत्र बुझाएको छ ।”
जमिन भासिएको क्षेत्रमा तत्काल प्राविधिक र भौगर्भिक अध्ययन गराई जोखिमको अवस्था पहिचान गर्न र प्रभावित परिवारको क्षतिको विस्तृत मूल्याङ्कन गरी पुनस्र्थापनाको व्यवस्था गर्न माग गरेको उनको भनाइ छ ।
उनका अनुसार प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन जोखिम न्यूनीकरण तथा संरक्षणका कार्यक्रम प्रदेश सरकारमार्फत सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध गराउनुपर्ने माग राखेको अध्यक्ष धामीले बताउनुभयो । जोखिममा रहेका घरपरिवारलाई आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण र पुनस्र्थापना गर्न मुख्यमन्त्री भट्टमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
१८ घर पूर्ण रूपमा चर्किए, १० घर भत्किए
अध्यक्ष धामीका अनुसार खर्क बस्तीमा अहिले पनि जमिन धसिने क्रम रोकिएको छैन। बस्तीका १८ वटा घर पूर्ण रूपमा चर्किएका छन् भने १० वटा घर भत्किएका छन्।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा राखिएको र तत्कालका लागि गाउँपालिकाले टेन्टको व्यवस्था गरेको छ। बस्तीका दुई–तीन वटा घरबाट अन्नपातसमेत निकाल्न नसकिएको हुँदा प्रभावित परिवारमा खाद्यान्नको समस्या सिर्जना भएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सुरक्षित बस्ती व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत जानकारी गराइसकिएको बताए। गाउँपालिकाले क्षतिको विवरण तथा प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्न थालेको छ।
व्यास गाउँपालिका–४ का वडाध्यक्ष झुनसिंह विष्टले बस्ती जोखिममा परेकाले तत्काल स्थलगत निरीक्षण गरी जोखिमको मूल्याङ्कन गर्नुपर्ने र प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए।
यसैबीच, मडगाउँस्थित खर्क बस्ती जोखिममा परेको विषयमा दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले प्रतिनिधिसभा बैठकमा बस्ती स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
