दार्चुला । आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा उच्च सजगता अपनाउँदै विपद् प्रतिकार्यका लागि सरोकारवाला संयन्त्रहरूलाई तयारी अवस्थामा राखिएको छ ।
बङ्गालको खाडीको मध्य भू भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएको र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख सञ्जयकुमार शाहका अनुसार सम्भावित वर्षात्बाट उच्च जोखिममा रहेका सुदूरपश्चिमका बझाङ, बाजुरा, दार्चुला र अछाम जिल्लामा उच्च सतर्कता अपनाउन ’एलर्ट’ जारी गरिएको छ ।
मौसम महाशाखाको चेतावनीपछि जिल्ला प्रशासन कार्यालयहरूले नागरिक तहसम्म पूर्वसूचना प्रणाली सक्रिय बनाएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित वर्षापछि उत्पन्न हुन सक्ने विपद्को परिस्थितिबाट बच्न नागरिक स्तरमै सूचना जारी गरी सतर्क रहन आग्रह गरिएको जानकारी दिनुभयो । यस्तै, बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले गृह मन्त्रालयसँग निरन्तर समन्वय गरेर पूर्वतयारी र उद्धारको रणनीतिबारे छलफल भइरहेको बताउनुभयो ।
भारी वर्षाका कारण पहाडी जिल्लाहरूमा बाढी र पहिरो तथा तराईका क्षेत्रमा डुबानको जोखिम उच्च रहने भएकाले प्रदेशका सम्पूर्ण सुरक्षा निकायलाई ’स्ट्यान्डबाइ’ राखिएको छ ।
सशस्त्र प्रहरी बल श्री नं ७ वैद्यनाथ बाहिनी अत्तरियाका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयका अनुसार मौसम महाशाखाको सूचनाका आधारमा सशस्त्र प्रहरीले विपद् प्रतिकार्यको तयारी तीव्र बनाएको छ ।
यसैगरी, नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । बाढी–पहिरोबाट प्रभावित हुन सक्ने नागरिकको तत्काल उद्धार तथा राहतका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतनामा हेलिकप्टर तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।
