दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा एनसेलको नयाँ टावर सञ्चालनमा आएको छ। यही महिनाको ५ गतेदेखि सञ्चालनमा आएको उक्त टावरबाट गाउँपालिकाका करिब ५ हजार नागरिकले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउने भएका छन्।
मार्मा गाउँपालिकामा सञ्चालनमा आएको यो टावर दार्चुलामा एनसेलको १०औँ टावर हो। नयाँ टावर सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकलाई मोबाइल तथा इन्टरनेट डाटा सेवामा सहजता हुने अपेक्षा गरिएको छ।
एनसेलका अनुसार सुदूरपश्चिम प्रदेशभर हाल ३ सय ३६ वटा टावर सञ्चालनमा रहेका छन्। कम्पनीले प्रदेशका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्दै आएको जनाएको छ।
त्यस्तै, एनसेलले दार्चुला जिल्लामा हाल ६ वटा कर्पोरेट ग्राहकलाई इन्टरनेट तथा इन्ट्रानेट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
नयाँ टावर सञ्चालनसँगै मार्मा गाउँपालिका र आसपासका ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय नागरिकलाई सञ्चार तथा इन्टरनेट सेवाको प्रयोगमा थप सहजता पुग्ने जनाइएको छ। टावर संञ्चालनमा आएपछि त्यहाँका नागरीकहरु खुशी भएका छन् ।
