दार्चुला । लगातारको वर्षाका कारण दार्चुला सहित सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुला बैतडी र डडेल्धुराले छुट्टाछुट्टै सूचना जारी गर्दै पहाडी सडकमा सवारी सञ्चालनमा रोक लगाएका हुन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको मौसमसम्बन्धी पछिल्लो बुलेटिन र शुक्रबार दिउँसोदेखि भइरहेको वर्षाका कारण स्थानीय प्रशासनले यस्तो निर्णय गरेका हुन् ।
दार्चुला प्रशासनले पनि भारी वर्षाका कारण जिल्लाका विभिन्न सडकमा जोखिम बढेकाले सार्वजनिक सवारीसहित अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
डडेल्धुरा प्रशासनले शनिबारदेखि आइतबार बिहान ७ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाएको जनाएको छ । डडेल्धुरा भएर सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जाने प्रमुख भीमदत्त राजमार्गमा समेत सवारी आवागमन रोकिएको छ ।
बैतडी प्रशासनले आफ्नो जिल्ला ‘बी अलर्ट’ क्षेत्रमा परेको तथा उत्तर र दक्षिणतर्फका जिल्लाहरू ‘रेड जोन’मा रहेको भन्दै ११ असोजको बिहानसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको जनाएको छ ।
प्रशासनले आकस्मिक तथा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, सम्भावित बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, प्रहरी र सुरक्षा निकायसँग समन्वय गरेर मात्रै आवागमन गर्न आग्रह गरिएको छ ।
