दार्चुला । चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमनका लागि प्रवेश/निकास अनुमतिपत्र (प्रवेश पास) जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय दार्चुलालाई तोकिएको छ।
अध्यागमन विभागले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई पत्र पठाउँदै ‘चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन (प्रवेश/निकास) अनुमतिपत्र (प्रवेश पास) उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८१’ को दफा ५(१) बमोजिम योग्य व्यक्तिलाई प्रवेश पास उपलब्ध गराउने जिम्मेवारी तोकिएको जनाएको हो।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले हस्ताक्षर गरेको पत्रमा तोकिएको कार्यविधि तथा प्रचलित कानुनको सीमाभित्र रही जिम्मेवारी इमानदारीपूर्वक पालना गर्दै कार्यसम्पादन गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ।
यससँगै दार्चुलाका योग्य नागरिकले चीन आवागमनका लागि आवश्यक प्रवेश पास जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। अध्यागमन विभागले यससम्बन्धी कार्यविधि, २०८१ आफ्नो आधिकारिक वेबसाइटमा समेत राखेको छ।

