अपिहिमालमा विद्यालय दिवा खाजा प्रभावकारी बनाउन स्थानीय कृषकसँग अभिमुखीकरण

दार्चुलाको अपिहिमाल गाउँपालिकामा विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी, पोषणमैत्री तथा दिगो बनाउने उद्देश्यले स्थानीय कृषकसँग आपूर्ति शृङ्खलासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अपिहिमाल गाउँपालिकाको आयोजना तथा विश्व खाद्य कार्यक्रम (विश्व खाद्य कार्यक्रम) को आर्थिक सहयोगमा आज कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिका उपाध्यक्ष एवं पालिकास्तरीय दिवा खाजा व्यवस्थापन उपसमिति संयोजक देवकीदेवी बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्ट, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मदनराज जोशी, विश्व खाद्य कार्यक्रमका जिल्ला संयोजक विजय विश्वकर्मा तथा एकीकृत विकास समाज नेपालका जिल्ला संयोजक दिपेन्द्रबहादुर कुँवरको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालय दिवा खाजा कार्यक्रमका लागि स्थानीय कृषि उत्पादनको उपलब्धता, गुणस्तर, संकलन, बजारीकरण तथा विद्यालयसम्म आपूर्ति व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मदनराज जोशीले जानकारी दिए ।

स्थानीय कृषि उत्पादनको प्रवद्र्धनसँगै कृषकको आयआर्जन वृद्धि गर्ने र विद्यालय तहमा बालबालिकाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले पालिका, विद्यालय र कृषकबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको उनको भनाई छ ।

कार्यक्रमले कृषकको खेतबारीदेखि विद्यालयमा बालबालिकाको थालीसम्म पौष्टिक दिवा खाजा पुर्‍याउने, बालबालिकाको स्वास्थ्य तथा सिकाइमा सहयोग गर्ने र स्थानीय उत्पादनमा आधारित दिगो दिवा खाजा प्रणाली विकास गर्ने अपेक्षा गरिएको पालिकाले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.