दार्चुला । दुहुँ गाउँपालिकाले स्थानीयवासीलाई सहज र सस्तो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएको छ।
बुधबार गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले दुहुँ गाउँपालिका–३ चल्लेगाडामा आयोजित कार्यक्रममा गाउँ बस सेवाको उद्घाटन गरेका हुन्। कार्यक्रममा वडा – ३ का अध्यक्ष देवबहादुर बम, वडा – ४ का अध्यक्ष कृष्णसिंह लोथ्याल लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता थियो।
नयाँ बस सेवामार्फत महाकाली नगरपालिका–४ स्थित रिङनतालदेखि दुहुँसम्म स्थानीयवासीले सहज र सस्तो भाडामा यात्रा गर्न पाउने अध्यक्ष बडालले बताए।
गाउँपालिकाले रिङनतालदेखि विभिन्न गन्तव्यसम्मको भाडा निर्धारण गरेको छ। जसअनुसार श्रीबगरसम्म ३० रुपैयाँ, तिमुरपाटासम्म ६०, सल्लीसम्म ७०, सिमलीसम्म ९०, दौलासम्म १००, जोशीगाउँसम्म १२०, धारीसम्म १३० र चल्लेगाडासम्म १५० रुपैयाँ भाडा तोकिएको छ।
यस्तै, गरमोरासम्म १७०, हिकिलासम्म २००, बास्पालीसम्म २२० र बिणसम्म २५० रुपैयाँ भाडा लाग्नेछ। न्यूनतम भाडा भने १० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार ज्येष्ठ नागरिक, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र विद्यार्थीलाई परिचयपत्रका आधारमा भाडामा ५० प्रतिशत छुट दिइनेछ।
