दार्चुला । दार्चुलामा चाडपर्वको सिजन सुरु भएसँगै दार्चुलाका मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, दार्चुलाको संयोजनमा गठित संयुक्त बजार अनुगमन टोलीले महाकाली नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरेको हो ।
सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त बजार अनुगमन निर्देशिका, २०७६ बमोजिम टोलीले हिजो महाकाली नगरपालिका वडा–४ र ५ स्थित बाङ्गाबगर र महोती बजारमा रहेका २७ वटा व्यवसायिक फर्मको अनुगमन गरेको हो।
अनुगमन टोलीले किराना पसल, खाद्य उद्योग, थोक व्यापार पसल र मिठाइ पसलको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा रु. १२ हजार ३२० बराबरका उपभोग्य मिति नाघेका खाद्यवस्तु बरामद गरिएको थियो। बरामद गरिएका खाद्यवस्तु अनुगमन टोलीले नष्ट गरेको जनाइएको छ।
