दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मालिकार्जुन गाउँपालिका समितिको आयोजनामा “हामी आउँदैछौँ” अभियान अन्तर्गत बृहत् प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ। आगामी असोज २४ गते मालिकार्जुन गाउँपालिकामा उक्त विशेष प्रशिक्षण आयोजना गर्न लागिएको हो।
रास्वपा केन्द्रीय तथा प्रदेश समितिबाट आउने उत्कृष्ट प्रशिक्षक टोलीद्वारा प्रशिक्षण प्रदान गरिने गाउँपालिका सभापतिले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ।
आयोजकका अनुसार कार्यक्रममा मालिकार्जुन गाउँपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य, ८ वटै वडा समितिका पदाधिकारी तथा सदस्य, RAT टिमका सदस्य, पार्टी सदस्यता प्राप्त अगुवा कार्यकर्ता, समर्थक, शुभेच्छुकका साथै आगामी स्थानीय तहको निर्वाचनका लागि ‘क्यान्डिडेट क्लब’ मार्फत विभिन्न पदमा उम्मेदवारी दिएका दाबेदारहरूको अनिवार्य एवं सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।
पार्टीको संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई लक्षित गरी आयोजना गर्न लागिएको यस अभियानले स्थानीय स्तरमा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्नुका साथै संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने विश्वास लिइएको छ।
