दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ र ३ जोड्ने धनबोरा ट्रस पुलको आज उद्घाटन गरिएको छ।
गत वर्ष सुक्खा पहिरोका कारण पुरानो ट्रस पुल भत्किएपछि समस्यामा परेका स्थानीय बासिन्दा तथा अपिहिमाल बेसक्याम्प जाने पर्यटकका लागि नयाँ पुल निर्माण गरिएको हो।
पुल भत्किएपछि अपिहिमाल बेसक्याम्पको ट्रेकिङ तथा वडा नम्बर १ र २ का नागरिकलाई आवतजावतमा समस्या भएको थियो।
त्यसपछि गाउँपालिकाले एक साताभित्र अस्थायी काठे पुल निर्माण गरी आवतजावत सुरु गराएको थियो।
गाउँपालिकाले पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आफ्नै स्रोतबाट ६ महिनाभित्रै नयाँ ट्रस पुल निर्माण सम्पन्न गरेको हो। बर्खायाममै छोटो अवधिमा पुल निर्माण भएको यो सम्भवत: पहिलो उदाहरण भएको जनाइएको छ।
नयाँ पुल निर्माणसँगै अपिहिमाल बेसक्याम्पको ट्रेकिङमा सहजता थपिएको छ। साथै वडा नम्बर १, २ र ३ लगायतका क्षेत्रका नागरिक तथा सेवाग्राहीलाई आवतजावत गर्न सहज भएको छ।
पुल निर्माणमा अहोरात्र खटिने उपभोक्ता समिति अध्यक्ष धनमिन ठेकरेलगायत सबै पदाधिकारी, कामदार, प्राविधिक सहयोग प्रदान गर्ने ग्रामीण विकास समाज दार्चुलाका प्राविधिक राजेन्द्रसिंह ठगुन्ना, गाउँपालिकाको योजना तथा प्राविधिक शाखाका कर्मचारी र निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद तथा बधाई व्यक्त गरिएको छ।
