काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भइसकेको छ । सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको भने विभिन्न समूहको सकिँदा अन्य समूहको मतगणना भइरहेको छ ।
सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कूल खसेको ७ हजार १३ मतमध्ये ५४ मत बदर भएकामा थापाले ९४.६ प्रतिशत अर्थात् ६ हजार ५८४ मत पाएका थिए । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ५.४ प्रतिशत अर्थात् ३७५ मतमात्र पाए ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए । उपसभापति खुलामा डा. चन्द्रकान्त भण्डारी र ई मधु आचार्य निर्वाचित भए । समावेशी उपसभापतिमा विनोदकुमार चौधरी २४.८ प्रतिशत मतसहित निर्वाचित भए ।
महामन्त्री खुलामा प्रदीप पौडेल ५९.६ प्रतिशत तथा उदयशमशेर राणा ३२.८ प्रतिशत मतसहित निर्वाचित भए । महामन्त्री महिलामा डिला संग्रौला ४४.३ प्रतिशत मतसहित निर्वाचित भइन् ।
सहमहामन्त्रीका विभिन्न समूहमध्ये खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सहमहामन्त्री महिलामा प्रतिमा गौतम निर्वाचित भएकी छिन् । आदिवासी जनजातितर्फ बहादुर सिंह लामा निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन् ।
विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम पनि सार्वजनिक भइसकेको छ । केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी छ । केहीको परिणाम आउने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ । बाँकी समूहको गणना सम्पन्न गरी आज बेलुकासम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिले राखेको छ ।
असोज १८ गतेदेखि सुरू भएको महाधिवेशनको २३ गते मतदान भएको थियो । सभापतिको मत परिणाम २४ गते बिहानै आए पनि अन्य पदको गणना तीव्र गतिमा हुन नसक्दा केही ढिलाइ भएको छ ।
