दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीको बुधबार विदाई गरिएको छ। गाउँपालिकामा झण्डै ४ वर्ष ६ महिना २२ दिन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका धामीको सरुवा भएपछि विदाई गरिएको हो।
विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुष्कर सिंह धामीले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनले गाउँपालिकाको प्रशासनिक क्षेत्रका साथै विकास निर्माणलगायत अन्य क्षेत्रमा पनि धामीको योगदान अतुलनीय रहेको उल्लेख गरे।
अध्यक्ष धामीले नौगाड गाउँपालिकामा रहेर सेवा र योगदान पुर्याएकोमा गाउँपालिकावासीका तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी कार्यकालको सफलताको शुभकामना दिए।
कर्मचारीको नियमित प्रशासनिक प्रक्रियाअनुसार धामीको सरुवा भएको उल्लेख गर्दै अध्यक्ष धामीले नयाँ जिम्मेवारीमा पनि सफलतापूर्वक कार्यसम्पादन गर्न शुभकामना व्यक्त गरेका हुन्।
नौगाड गाउँपालिकाबाट सरुवा भएका धामी गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रशासकीय अधिकृतका रूपमा जाने भएका छन्।
यसैबीच, मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द्र जोशीलाई कैलालीको चुरे गाउँपालिकामा सरुवा गरिएको थियो। त्यसपछि उनलाई कामकाजका लागि नौगाड गाउँपालिकामा खटाइएको छ।
