नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा यसवर्ष चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकको सामना गरिरहेको स्थितिमा रहेकाले चियापान कार्यक्रम नगर्ने कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनका अनुसार शोकको यो घडीमा चाडपर्व मनाइरहँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सिमित रहेर मनाउन पनि सभापति गगन थापाले आग्रह गरेका छन्।
‘बिपी कोइराला ०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भए पश्चात ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन सौहार्दता अभिवृद्धि र शुभकामना आदान–प्रदान गर्न ‘चियापान समारोह’ आयोजना गर्नु भएको थियो। तत्पश्चात् निश्चित कारणवश कुनै बर्ष आयोजना नभएको बाहेक हरेक बर्ष नेपाली कांग्रेसले सोही तिथिमा कार्यक्रम गर्दै आएको सर्वविदितै छ।’ विज्ञप्तिमा भनिएको छ,‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ। भोटेकोसीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र ५ हजार बढी बेपत्ता रहेको अवस्था छ भने बुढिगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ। यस्तो दुःखद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ।’
