दार्चुला: दार्चुलाको अपी हिमाल बेसक्याम्पमा आयोजना हुने उच्च हिमाली मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन धनगढी–११ को टोली शुक्रबार साँझ क्रिकेटको सहर धनगढीबाट प्रस्थान गरेको छ।
टोलीलाई एसपिए कलेज धनगढी र नेपाल फोटोग्राफर एशोसेसन कैलालीको टोलीले विदाई गरेको हो ।
अपिहिमाल गाउँपालिकाले आयोजना गर्ने ‘अपी हिमाल पर्यटन उत्सव, २०८३’ अन्तर्गत कात्तिक १८ गते धनगढी–११ र अपी–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदै छ। समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको अपी हिमाल बेसक्याम्पको पिलकन्द मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
हिमाली पर्यटन प्रवद्र्धनलाई खेलकुदसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा ‘क्रिकेटको सहर धनगढी’ अभियानको समेत सहकार्य रहेको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्ष एवं ‘क्रिकेटको सहर धनगढी’ अभियानका सूत्रधार सुवास बी. शाहीले प्रतियोगितामा सहकार्य गरेका छन्।
सुदूरपश्चिमको क्रिकेट पहिचानलाई हिमाली पर्यटनसँग जोड्दै अपी क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने पर्यटन उत्सव आयोजना गर्दै छ। उत्सवमार्फत अपी क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय आर्थिक गतिविधि विस्तार तथा प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ।
