दार्चुला । दार्चुलाको अपिहिमाल वेश क्याम्पमा आजबाट तीन दिने अपिहिमाल पर्यटन उत्सव सुरु भएको छ ।
दार्चुलाको अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित अपिहिमाल पर्यटन उत्सव–२०८३ सुरु भएको छ ।
अपिहिमाल गाउँपालिका–१ स्थित अपिहिमाल आधार शिविरमा मंगलबार उत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्नुभयो ।
उत्सवमा सहभागी हुन मुख्यमन्त्री भट्टसँगै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल र सभामुख भीमबहादुर भण्डारी हेलिकप्टरमार्फत अपिहिमाल पुग्नुभएको थियो ।
अपिहिमाल गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको उत्सव कात्तिक १९ गतेसम्म चल्नेछ । चालु आर्थिक वर्षमा कम्तीमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित उत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
अपिहिमाल क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।
उत्सवको पहिलो दिन आज उद्घाटन समारोहसँगै स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन, साहित्यिक कार्यक्रम तथा राष्ट्रिय र स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति राखिएका छन् ।
दोस्रो दिन भोलि मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ । तेस्रो दिन कात्तिक १९ गते जलवायु संवाद, योग तथा ध्यान शिविर र औपचारिक समापन कार्यक्रम आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रको पर्यटन र स्थानीय जनजीवनमा पारेको प्रभावबारे छलफल गर्दै अनुकूलनका उपायप्रति सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले जलवायु संवाद आयोजना गर्न लागिएको हो ।
